'वर्तमान संविधान मानेर, व्यवस्थालाई मानेर, परिवर्तनलाई स्वीकार गरेर आएको दल हो रास्वपा, कतिपटक सुन्न चाहनुहुन्छ ?'
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आफ्नो नेतृत्वको पार्टीको संविधान र व्यवस्थाप्रतिको विश्वासलाई लिएर पटक-पटक प्रश्न उठाउनु सही नभएको बताए । उनले पटक-पटक आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक व्यवस्था र संविधानप्रति प्रतिबद्ध रहेको बताए ।
पार्टी कार्यालयमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले व्यवस्थाका नाममा जनतालाई धोका दिन नहुने स्पष्ट पारे । 'पटक-पटक हाम्रो डीएनए जाँच गरिन्छ तिमीहरू के वादी हौ ? कहाँ वादी हौ ? कस्तो वादी हौ ? पटक-पटक कति जाँच दिनुपर्ने हो ?,' उनले प्रश्न गरे, 'कतिवटा जाँच दिनुपर्छ हामीले ? लेखेर, बोलेर, देखिएर, भनेर ठाउँ-ठाउँमा हामीले बताइसकेका छौं । हामी के हौं, को हौं र कहाँ हौं ? वर्तमान संविधान मानेर, व्यवस्थालाई मानेर, परिवर्तनलाई स्वीकार गरेर आएको दल हो रास्वपा, कतिपटक सुन्न चाहनुहुन्छ ?'
रास्वपा गणतन्त्रवादीको कित्तामा छैन कि भनी हिलो छ्याप्ने काम गर्न खोजिएको उनको भनाइ थियो । उनले अन्य दलहरूलाई भने, 'जहाँ तपाईं उभिनुभएको छ त्यो गणतन्त्र होइन ।' संविधान संशोधन गर्न भनी गठन भएको सरकार संविधान असफल हुन लाग्दा पनि दलहरूलाई चेत नखुलेको लामिछानेको भनाइ थियो ।
रास्वपा हिंसाको विरोधी भएको पनि लामिछानेले बताए । उनले लोकतन्त्रभन्दा उन्नत कुनै व्यवस्था नभएको बताए । राजनीतिक दलहरूले लोकतन्त्रको दुहाइ दिएर आफ्नो वर्षौंका कमजोरी लुकाउने प्रयास नगर्न उनले आग्रह गरे ।
राजावादीले चैत १५ मा तीनकुनेलगायतका क्षेत्रमा गरेको आगजनी, लुटपाट, तोडफोडको सत्यतथ्य जाँच हुनुपर्ने लामिछानेको माग थियो । 'तीनकुनेको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्, त्यसको सत्यतथ्य छानबिन होस् । नेपालका नागरिक युवा मरेका छन् । सरकारले आफ्नो कमजोरी छोप्ने प्रयास नगरोस् । चार हजार मानिस आउँदा पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ ?,' उनले भने । काठमाडौंमा चार हजार मान्छे आउँदा घरमा आगो लाग्ने र मान्छे मारिने अवस्था आएको भन्दै उनले वर्तमान गृह मन्त्रालयको नेतृत्वले सुरक्षा दिन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको बताए । 'अन्तरजातीय विवाह गरेको जोडीलाई समाउन मुम्बईसम्म प्रहरी पठाउने सरकार काठटमाडौंमा चार हजार मान्छे आउँदा सम्हाल्न सक्दैन,' उनले भने ।
लामिछानेले पार्टीका नेताहरूलाई पदको लोभ छोड्न पनि आग्रह गरेका छन् । लोभलालच नराखी पार्टीलाई अगाडि बढाउनुपर्ने र योग्य मान्छेहरूलाई ल्याउनुपर्ने उनको आग्रह थियो ।
आफूमाथि सरकारले षडयन्त्र गरिराखेको पनि लामिछानेको भनाइ थियो । 'मलाई लागेको थियो शान्त बसौं र प्रक्रियालाई सघाऔं तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा ठाउँमा त मुद्दासमेत नबुझाएर राखेको छ । यिनलाई लागेको छ होला यसको टाउकोमा तरबार राखे त चुप लागेर बस्छ होला, कुनै पनि बेला तरबार खसाल म थाप्न तयार छु,' उनले भने । आफू लड्ने तर अव्यवस्थालाई हेरेर नबस्ने लामिछानेको भनाइ छ ।
रास्वपा सभापतिका रूपमा लामिछाने पुन: फर्किएका हुन् । उनीविरुद्ध गत पुसमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसमेतका कसुरमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिइएको थियो । पर्सा जिल्लामा मुद्दा दर्ता हुन बाँकी रहेका बेला लामिछाने पार्टीको नेतृत्वमा फर्किएका हुन् ।
