काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनको नाममा मान्छेलाई जिउँदै डढाउनेसम्मको आततायी र आतंककारी कार्य भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले उक्त घटनाप्रति निन्दा र खेद प्रकट गरे।
'तीनकुनेमा आयोजकहरुले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक गतिविधि गरे। प्रदर्शनको कथित 'जनकमाण्डर' आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गरियो,' प्रधानमन्त्री ओलीले अघि भने, 'निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना भए। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो।'
उनले प्रहरीका सवारी साधनदेखि आगो निभाउन आएका दमकलमाथि समेत आक्रमण गरेर सीमा नाघ्ने काम भएको बताए। 'यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होऊन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ,' प्रधानमन्त्री ओलीले भने।
