काठमाडौँ — महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीनै जना फरार, ८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्योदेखि आयात प्रतिबन्ध लगाएको दुग्ध पदार्थ बजारमा जहीँतहीँसम्ममा खबर आज चर्चामा रहे ।
000
सिरहाको औरही गाउँपालिका ५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् । घर भत्काइएको घटनाको मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले घटनाको अनुसन्धान थालेको हो ।
000
चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६।२२ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांक छ ।
000
२०७७ चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले दुग्ध पदार्थ (धुलो दूध र बटर) मा मुलुक आत्मनिर्भर भएको घोषणा गरे । तर, घोषणाको चार वर्ष पुग्दा पनि दुग्धजन्य वस्तुको आयात रोकिएको छैन । खुल्ला सीमाका कारण अवैध रूपमा प्रशस्तै दुग्धजन्य पदार्थ भित्रिइरहेको छ । कहाँबाट कति परिमाणमा आयात हुने गरेको छ भन्ने सरकारसँग कुनै लेखाजोखा छैन ।
000
चीनले यसै वर्षको सुरूमा लागूऔषध सम्बन्धी आरोपमा चार क्यानाडेलीलाई मृत्युदण्ड दिएको क्यानाडाली अधिकारीहरूले पुष्टि गरेका छन् । क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले मृत्युदण्ड दिइएकाहरूसँग दोहोरो नागरिकता रहेको र उनीहरूको पहिचान गोप्य राखिएको बताएकी छन् । घटना सार्वजनिक भएसँगै दुई देशबीचको तनाव थप चर्केको छ ।
000
प्यालेस्टिनी समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग टेलिफोन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न इर्दोगानलाई टेलिफोन गरेर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
