विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीले गरे टर्कीएका राष्ट्रपतिसँग टेलिफोन वार्ता

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

The Prime Minister held a telephone conversation with the President of Turkey for the release of Bipin Joshi

काठमाडौँ — प्यालेस्टिनी समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग टेलिफोन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न इर्दोगानलाई टेलिफोन गरेर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिएको र आवश्यक पहल गर्ने र यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए ।

कुराकानीमा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेसेपले स्मरण गराएका थिए । त्यस क्रममा दुई नेताबीच आर्थिक तथा विज्ञान-प्रविधिका क्षेत्रमा सहकार्यका विषयमा कुराकानी भएको थियो । 

कान्तिपुर

Link copied successfully