चीनमा क्यानडाका ४ नागरिकलाई मृत्युदण्ड दिएसँगै दुई देशको सम्बन्ध तनावपूर्ण 

चैत्र ७, २०८१

एजेन्सी

The relationship between the two countries is strained after 4 Canadian citizens were sentenced to death in China

ओटावा — चीनले यसै वर्षको सुरूमा लागूऔषध सम्बन्धी मुद्दामा आफ्ना ४ नागरिकलाई मृत्युदण्ड दिएको क्यानाडेली अधिकारीहरूले पुष्टि गरेका छन् । क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले मृत्युदण्ड दिइएकाहरूसँग दोहोरो नागरिकता रहेको र उनीहरूको पहिचान गोप्य राखिएको बताएकी छन् । 

घटना सार्वजनिक भएसँगै दुई देशबीचको तनाव थप चर्केको छ । बीबीसीका अनुसार क्यानाडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न’ आग्रह गरेका छन् । जसका कारण वर्षौंदेखि तनावपूर्ण रहेको दुईदेशीय सम्बन्ध थप बिग्रने देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले बिहीबार उनीहरूमाथि ‘कानून अनुसार’ कारबाही गरेको जनाएको छ । दूतावासले ओटावास्थित चिनियाँ दूतावासले उनीहरूको अपराधसँग सम्बन्धित ‘ठोस र पर्याप्त’ प्रमाण रहेको दाबी गरेको छ । 

‘बेइजिङले सम्बन्धित क्यानाडेली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको’ जनाउँदै दूतावासले क्यानडालाई ‘चीनको न्यायिक सार्वभौमिकता’ को सम्मान गर्न आग्रह गरेको छ । दोहोरो नागरिकतालाई मान्यता नदिने चीनले लागूऔषध सम्बन्धी अपराधमा कडा अडान लिँदै आएको छ । तर चीनमा विदेशी नागरिकहरूलाई मृत्युदण्ड दिइनु दुर्लभ मानिन्छ । 

क्यानाडेली विदेशमन्त्री जोलीले ‘महिनौंदेखि यी मुद्दाहरूलाई धेरै नजिकबाट हेरिरहेको र मृत्युदण्ड रोक्न पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोलगायत अन्य अधिकारीहरूमार्फत प्रयास गरेको’ बताएकी छिन् । ग्लोबल अफेयर्स क्यानडाका प्रवक्ता चार्लोट म्याकलियोडले क्यानडाले ती व्यक्तिहरूलाई क्षमादानका लागि उच्चस्तरमा बारम्बार आह्वान गरेको तर सबैले उनीहरूलाई मृत्युदण्ड दिनेमा अडिग रहेका बताएका छन् । 

चीनले लागूऔषध, भ्रष्टाचार र जासुसीलगायत गम्भीर अपराधहरूमा मृत्युदण्ड दिने गरेको छ । मृत्युदण्डको संख्या गोप्य राखिए पनि मानवअधिकार समूहहरूले चीन विश्वमा सबैभन्दा उच्च मृत्युदण्ड दर भएको देशमध्येमा पर्ने बताउँछन् । ‘चिनियाँ अधिकारीहरूद्वारा क्यानाडाली नागरिकलाई स्तब्ध पार्ने यस्ता अमानवीय मृत्युदण्ड क्यानडाका लागि जागरणको घण्टी हुनुपर्छ,’ एम्नेस्टी इन्टरनेशनल क्यानडाकी केटी निभ्याबन्दीले भनिन्, ‘हामी पीडित परिवारका लागि निराश छौं ।’

सन् २०१९ मा चीनले क्यानाडेली नागरिक रोबर्ट लोयड सेलेनबर्गलाई लागूऔषध तस्करीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसको क्यानडा सरकारले निन्दा गरेको थियो । सन् २०१४ मा पक्राउ परेका सेलेनबर्गलाई नोभेम्बर २०१८ मा १५ वर्षको जेल सजाय सुनाइएको थियो । 

तर त्यसको केही सातापछि हुवावेका कार्यकारी मेङ वाङ्झाउलाई भ्यानकुभरमा पक्राउ गरिएसँगै दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसलगत्तै चिनियाँ अधिकारीहरूले सेलेनबर्गको मुद्दा पुन: खोलेका थिए । जनवरी २०१९ मा सेलेनबर्गलाई मृत्युदण्ड सुनाइएको थियो । त्यसको क्यानडाले निन्दा गरेको थियो । 

नयाँ फैसलाविरुद्ध सेलेनबर्गले गरेको अपिल अगस्ट २०२१ मा अस्वीकार भएको थियो । फैसलापछि सेलेनबर्गको मुद्दा चीनको सर्वोच्च जनअदालतमा पठाइएको छ । चीनमा सबै मृत्युदण्ड कार्यान्वयन गर्नुअघि सर्वोच्च जनअदातले अनुमोदन गर्नुपर्छ ।

एजेन्सी

Link copied successfully