आज देश-दुनियाँमा के-के भयो ?

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — जनताको आक्रोश नजरअन्दाज गर्न नमिल्ने कांग्रेस महामन्त्री थापाको भनाइ, निजी क्षेत्रले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नदिने गरेको मुख्यसचिव अर्यालको भनाइदेखि एन्फाका पूर्वअध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध मुद्दा हालेको सम्मका खबर आज चर्चामा रहे ।

000

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गरे । महामन्त्री थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन् । 

000

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ८५ लाख ५२ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  

000

मुख्यसचिव एकनारायण अर्यालले निजी क्षेत्रले श्रमिकका लागि सरकारले निर्धारण गरेको न्यूनतम ज्याला नदिने गरेको बताएका छन् । सरकारले तोकेको ज्याला निजी क्षेत्रले दिएको भए आज मानिसहरू खाडी मुलुकमा नजाने समेत उनले जनाए । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ को दोस्रो दिन अर्यालले यस्तो बताएका हुन् । 

000

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय अपराध न्यायालय ९आईसीसी०ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । 

000

पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।

कान्तिपुर

Link copied successfully