काठमाडौँ — पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।
राईले आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहीन आरोप लगाएको भन्दै कानुनी कारबाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको बताएका छन् ।
थापाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, 'महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ ।'
