वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ८५ लाख ठगी गर्ने ६ जना पक्राउ

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

6 arrested for defrauding 85 lakh by saying that they will send them to foreign employment

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ८५ लाख ५२ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपलिका–१६ बस्ने सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई टोखा नगरपालिका–३ बस्ने जेम्स राना, कीर्तिपुर नगरपालिका–६ घर भएकी रेखा तुलाधर, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं–१६ बस्ने रवि खनाल, ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका–१ घर भई बुढानीलकण्ठ नगरपालिका–८ बस्ने ललितबहादुर ईवारम र दिपेश सुब्बा लिम्बु रहेका छन् । 

पक्राउ परेकामध्ये सरूले अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ, रेखाले जापान पठाइदिन्छु भन्दै १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाइदिन्छु भन्दै १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully