काठमाडौँ — फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।
दुतेर्तेलाई प्रहरीले फिलिपिन्सको राजधानी मनीला एयरपोर्टबाट पक्राउ गरेको हो । हङहङबाट फर्किएका उनलाई एयरपोर्टबाटै नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दुतेर्तेले सन् २०१६ देखि २०२२ सम्म दक्षिण पूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध कारबाही गरेका थिए । जसमा हजारौं मानिस मारिएका थिए ।
यसअघि सम्भावित पक्राउलाई लिएर उनले जेल जानका लागि आफू तयार रहेको बताएका थिए । फिलिपिन्सको मावअधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको पक्राउलाई ‘ऐतिहासिक क्षण’ बताएको छ ।
