आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाको भाषणदेखि शान्ति स्थापनाका लागि राष्ट्रपति पद त्याग्न तयार भोलोदिमिर जेलेन्स्कीको भनाइसम्मका विषय सोमबार कान्तिपुरमा समाचार बनेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताएका छन् । सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् । 

त्यस्तै 'पाथीभरा मुकुम्लुङ'  क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत समूहलाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित फेरि वार्ताका लागि बोलाएको हो ।

त्यस्तै खोकना विवादका कारण काठमाडौं-तराई फास्ट ट्र्याकको समयावधि थपिने निश्चित भएको नेपाली सेनाले जनाएको छ । खोकनाको जग्गा विवाद समयमै हल हुन नसके काठमाडौं–तराई द्रुतमार्ग निर्माणको समयावधि थपिने सेनाको भनाइ छ । आइतबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले हालसम्म गरेका कामबारे जानकारी दिएको थियो ।

त्यसैगरी माओवादी उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताएका हुन् ।

त्यस्तै आजको अन्तर्राष्ट्रिय समाचारमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, ‘यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully