काठमाडौँ — माओवादीका उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् ।
झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताएका हुन् ।
जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरू, प्रतिगामी सामन्तहरू पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याइराखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’
उनले काठमाडौंकेन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए । १०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरू अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे । ‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं कजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं,’ उनले भने, ‘केही मान्छेले हाम्रो धैर्य र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरुले पछुताउनुपर्नेछ ।’ पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बदिलानीका लागि पनि आफूहरु तयार रहेको बताए ।
पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरेका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मूलधारका राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।
