काठमाडौँ — अमेरिकामा विमान दुर्घटनादेखि त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेटमा नेपालको हारसम्मका खबर आज कान्तिपुरमा प्रकाशित भएका छन् । बिहीबार भएको विमान दुर्घटना अमेरिकामा सन् २००९ पछिको ठूलो हो ।
अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको हो । दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यस्तै आजको राजनीतिक खबरमा शुक्रबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा विपक्षी दलहरूको तयारीबारे छ । संघीय संसद्का विपक्षी राजनीतिक दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले अध्यादेशका विरुद्धमा आवश्यक परेमा सडक प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । विपक्षी ७ राजनीतिक दलको बैठकले शुक्रबारबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको थियो ।
त्यस्तै आज देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइएको हो । काठमाडौंको टुँडिखेलमा पनि विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाइएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
त्यस्तै आजको अन्तर्राष्ट्रिय खबरमा हमासले बन्धक छोडेको विषय छ । प्यालेस्टिनी समूह हमासले बिहिबार थप तीन इजरायली बन्धकहरू मुक्त गरेको छ । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् । बर्गर इजरायली महिला सैनिक हुन् । हमासले आजै पाँचजना थाई बन्धकहरू पनि रिहा गरेको छ । बर्गरलाई रिहा गरिएको केही समयपछि अन्य ७ जनालाई अन्तराष्ट्रिय रेडक्रसको जिम्मा लगाइएको हो । बीबीसीका अनुसार रिहा भएका थाई नागरिकहरू बनावत सिआठो, नटापोङ पिन्टा, साथिआन सुवानाखम, सुरस्क लम्ना र पोङ्सक टन्ना हुन् ।
त्यस्तै आजको खेल खबरमा त्रिकोणात्मक महिला ट्वान्टी/२० शृंखलामा नेपाल पराजित भएको विषय समेटिएको छ । नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी/२० शृंखलामा बिहीबार नेपाललाई २० रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
