काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी/२० शृंखलामा बिहीबार नेपाललाई २० रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
नेपालबाट सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । उनले ४५ बल खेली ३ चौका प्रहार गरिन् । कविता जोशीले १७ बल खेली १ चौका र २ छक्कासहित २७, पूजा महतोले १४ बलमा समान २ चौका र छक्कासहित २४, रुविना क्षेत्रीले ११ रन बनाइन् । सम्झना खड्का ९, कप्तान इन्दु वर्मा ७, कविता कुँवर ८ रनमा आउट भइन् ।
विन्दु रावल ३ र डेब्यु गरिरहेकी अलिशा यादव ४ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट इभा लिन्चले ४ ओभरमा ३० र क्यारोलिन डी लाङ्गेले ४ ओभरमा ३६ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो ।
कविता कुँवरले इनिङ्सको दोस्रो बलमै फेबे मोल्केनबोइरलाई शून्यमा एलबीडब्लू आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । पूजा महतोले नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडेलाई ६ रनमा बोल्ड गरी नेपाललाई खेलमा हावी बनाउन खोजेकी थिइन् ।
तर स्टेरे कालिस र रिज्केले तेस्रो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्सलाई सुधारेका थिए । कालिसलाई २९ रनमा सीता रानामगरले बोल्ड गरिन् । रिज्के र हिथर सिगर्सले चौथो विकेटमा ५४ रनको साझेदारी गरे । सिगर्सले १९ बल खेली समान १ चौका र छक्कासहित २३ रन बनाइन् । उनलाई सोनु विष्टले लङ अनमा रुविना क्षेत्रीबाट क्याच गराइन् ।
रिज्के ५७ रन बनाइ अविजित रहिन् । उनले ४७ बल खेली ८ चौका प्रहार गरिन् । अर्की अविजित ब्याटर आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । उनले ५ चौका प्रहार गरेकी थिइन् । नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ६२ रन जोडेको थियो ।
नेपालबाट कविता, पूजा, ईश्वरी र सीताले १–१ विकेट लिए । कविताले २ ओभरमा १४, पूजाले ३ ओभरमा २५, ईश्वरीले ३ ओभरमा १ मेडन राख्दै २४ र सीताले ३ ओभरमा २५ रन खर्चेका थिए ।
नेदरल्यान्ड्सले शुक्रबार थाइल्यान्डसँग खेल्ने छ भने शनिबार नेपाल र थाइल्यान्डका बीच खेल हुनेछ । सहभागी टोलीले एकअर्कासँग तीन पटक खेल्नेछन् र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ ।
