अमेरिका विमान दुर्घटना : ३० जनाको मृत्यु भएको पुष्टि

माघ १७, २०८१

एजेन्सी

US plane crash: 30 confirmed dead

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । 

चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको हो । 

दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । उनका अनुसार घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको बताएका छन् । 

डोनेलीले उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने बताएको सीबीएस न्यूजले जनाएको छ । उद्धार कार्यमा करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ । 

अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।

विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको 'ब्ल्याक हक' हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ ।

बीबीसीका अनुसा उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाइएको छ । 

दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ । 

एजेन्सी

Link copied successfully