हमासद्वारा ३ इजरायली र ५ थाई बन्धक रिहा

रिहा हुनेमा एकजना इजरायली महिला सैनिक, इजरायलले ११० प्यालेस्टिनीलाई छाड्ने

माघ १७, २०८१

एजेन्सी

3 Israeli and 5 Thai hostages released by Hamas

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले बिहिबार थप तीन इजरायली बन्धकहरू मुक्त गरेको छ । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् । बर्गर इजरायली महिला सैनिक हुन् ।

हमासले आजै पाँचजना थाई बन्धकहरू पनि रिहा गरेको छ । बर्गरलाई रिहा गरिएको केही समयपछि अन्य ७ जनालाई अन्तराष्ट्रिय रेडक्रसको जिम्मा लगाइएको हो । बीबीसीका अनुसार रिहा भएका थाई नागरिकहरू बनावत सिआठो, नटापोङ पिन्टा, साथिआन सुवानाखम, सुरस्क लम्ना र पोङ्सक टन्ना हुन् । 

हमासले छाडेका ८ बन्धकको बदलामा इजरायली जेलमा रहेका १ सय १० जना प्यालेस्टिनी आजै रिहा हुँदैछन् । तीमध्ये ३० जना बालबालिका, ३२ जना आजिवन कारवासको सजाय पाएका र ४८ जना लामो समयको जेल सजाय काटिरहेकाहरू भएको जनाइएको छ । 

हमास र इजरायलबीच दुई साताअघि युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएको थियो । सम्झौता अनुसार यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भइसकेका छन् । हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् । 

3 Israeli and 5 Thai hostages released by Hamasअगम बर्गर

हमास र इजरायलबीच भएको सम्झौतामा प्रत्येक इजरायली सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दी छाड्ने उल्लेख छ । युद्धविरामको दोस्रो चरणको वार्ता भने पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । 

दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने जनाइएको छ । तेस्रो तथा अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने सम्झौतामा उल्लेख छ । यो चरणमा बाँकी बन्धक रिहा तथा शवहरू फिर्ता गरिने जनाइएको छ ।

3 Israeli and 5 Thai hostages released by Hamas

अर्बेल यहुद 

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको  थियो । २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४७ हजार भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । 

एजेन्सी

Link copied successfully