पर्यटन, साहसिक गन्तव्य, उत्पादन, कला र संस्कृतिमा प्रचुर सम्भावना रहे पनि नीतिगत अस्पष्टता र अदूरदर्शिताका कारण गण्डकीले अधिकतम लाभ लिन नसकेको निष्कर्ष
कास्की — गण्डकी प्रदेशमा पर्यटनको थप विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय उडान, सडक सञ्जाल र नीतिगत सुधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याएका छन् । सबै प्रकारका पर्यटन, साहसिक गन्तव्य, उत्पादन, कला र संस्कृतिको प्रचुर सम्भावना रहे पनि नीतिगत अस्पष्टता र अदूरदर्शिताका कारण गण्डकीले अधिकतम लाभ लिन नसकेको उनीहरूले बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन प्रवर्द्धनका लागि ‘कनेक्टिभिटी’ सबैभन्दा महत्त्वपूर्ण हुने बताए ।
‘सडक कनेक्टिभिटी चुनौतीपूर्ण बनेको छ, हवाई यातायात सुविधा छ तर कहिले मौसमका कारण त कहिले व्यवस्थापन समस्याका कारण यात्रु समयमै गन्तव्यमा पुग्न सकेका छैनन्,’ उनले भने । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको उनले उल्लेख गरे ।
प्रदेश सरकारले चाहेर मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । भारत र चीनबाट गण्डकीमा उच्चस्तरीय भ्रमण भइरहँदा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेबारे छलफल गरिरहेको उनले जानकारी दिए ।
‘यहींबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भए गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकलाई सहज हुन्छ,’ उनले भने । पोखरा आउन प्रयोग हुने पृथ्वी राजमार्गको विस्तार छिटो सक्न सम्बन्धित निकाय र सरोकारवालासँग प्रदेश सरकारले निरन्तर समन्वय गरिरहेको पनि उनले जानकारी दिए ।
प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन भएको र ०८० चैत ४ मा प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेको पनि मुख्यमन्त्री पाण्डेले जानकारी दिए । ‘यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि गण्डकी प्रदेश र पोखराको ब्रान्ड थप स्थापित गराएको छ,’ उनले भने । पोखरालाई केन्द्रबिन्दुमा राखेर फरक–फरक विविधता रहेका जिल्लामा पर्यटकीय गन्तव्य विकास गर्ने लक्ष्य प्रदेश सरकारले राखेको पनि उनले बताए ।
‘इन्भेस्ट गण्डकी’, ‘पहिले घरदेश अनि परदेश’, ‘उद्यमी बनौं स्वदेशमै केही गरौं’ भन्ने नीतिलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले यो वर्ष पनि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । गण्डकीमा धार्मिक ऐतिहासिक धरोहर, पर्यटकीय गन्तव्य, ताल, धार्मिक शक्तिपीठ, साहसिक खेल (बन्जीजम्प, प्याराग्लाइडिङ, बोटिङ, हट ऐयर बेलुनलगायत) र हिमाल आरोहणका लागि पनि प्रचुर सम्भावना रहेको उनले बताए ।
प्रदेश सरकार र पोखरा महानगरपालिकाको नीति, योजना र कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाएसँगै पर्यटकीय ‘ब्रान्डिङ’ ले उचाइ लिँदै गएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले बताए । तीन वटै तहको सरकारको समन्वय र सहकार्यबाट गण्डकीको पर्यटन विकासका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
‘पोखराको समुन्नतिका लागि नेपाल सरकार, निजी क्षेत्र र अन्य विकास साझेदारबीच सहकार्य गर्ने अनुकूल वातावरण र पर्यटनमैत्री पूर्वाधार निर्माणमा अग्रसरता लिन जरुरी छ,’ उनले भने, ‘निजी क्षेत्रको जवाफदेहिता तथा व्यावसायिक क्षमता पनि अभिवृद्धि गर्नुपर्छ ।’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन विकासका लागि प्रदेश सरकार अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढेको देवकोटाले जानकारी दिए ।
‘गन्तव्य गण्डकी’ कार्यक्रमको पहिलो सत्र ‘राजनीति र पर्यटन नीति’ मा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकको आगमन बढाउन सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउन लागिएको जानकारी दिए । महानगरले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिरहेको उनले बताए ।
नेचर (प्रकृति), कल्चर (संस्कृति) र एडभेन्चर (साहसिक खेल) मा अब्बल रहेको पोखरालाई एकचोटि होइन, पटक–पटक आउने गन्तव्य बनाउने योजना रहेको उनको भनाइ छ । ‘पोखराको पर्यटनलाई दिगो बनाउन हामीले योजनाबद्ध तरिकाले काम गरिरहेका छौं,’ उनले भने, ‘पर्यटनसँग जोडिएका साढे सात अर्बका परियोजना सुरु गरिएका छन् । यसले पर्यटनको क्षेत्रमा नयाँ पूर्वाधार बनाउन सहयोग पुग्छ ।’
महानगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘पोखरा विमानस्थल राष्ट्रिय सञ्जालमा जोडिन सक्दा पनि काफी नै हुन्छ,’ उनले भने, ‘हाम्रा निजी वायुयान कम्पनीले अहिलेलाई नाफा नहेरी बजार निर्माणमा सहयोग गर्नुपर्छ ।’
गण्डकीलाई आधुनिक पर्यटनको जननीका रूपमा व्याख्या गर्दै प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरुङले कृषि र पर्यटनलाई एकीकृत गरेर ‘एग्रो–टुरिजम’ लाई प्राथमिकतामा राखिएको जानकारी दिए । हिन्दु र बुद्ध धर्मलाई पनि पर्यटनसँग जोड्न खोजिएको मन्त्री गुरुङको भनाइ थियो । ‘बनारसदेखि ल्हासासम्मका पर्यटक भित्र्याउन सकिन्छ कि भनेर निरन्तर प्रयासमा छौं,’ उनले भने, ‘पहुँचयुक्त पर्यटनका लागि हामीले पूर्वाधार बनाउनुपर्नेछ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय पर्यटन क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्नुको मुख्य कारण पर्यटनबारेको गलत बुझाइ र स्रोत कार्यान्वयन ‘मोडालिटी’ वा उपयोगमा स्पष्टता नहुनु पनि रहेको बताए ।
उनका अनुसार पर्यटन भनेको विशुद्ध प्राविधिक र व्यावसायिक क्षेत्र हो । तर नेपालमा यसलाई शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रसरह गाउँ–गाउँ पुर्याउनुपर्ने भाष्य विकास गरिएको छ । ‘सीमित स्रोतलाई अनुत्पादक क्षेत्रमा छरिदिँदा परिणाम प्राप्त हुन नसकेको हो,’ उनले भने, ‘युरोपमा फ्रान्स, स्पेन, एसियामा थाइल्यान्ड, मलेसिया जहाँसुकै हेर्यो सीमित क्षेत्रमै पर्यटनका गतिविधि हुन्छन् तर त्यसको फाइदाचाहिँ गाउँ–गाउँ लैजाने हो ।’
नेपाल पर्यटन बोर्डसहित सरकारी निकायले तत्कालका काममा बढी ध्यान दिने तर दीर्घकालीन योजनामा कम समय खर्च गर्ने प्रवृत्ति रहेको जोशीको टिप्पणी थियो । ‘अहिले प्रदेशपिच्छे पर्यटन परिषद् वा बोर्ड आइरहेका छन्, भारतमा पनि यस्तै छ तर स्कटल्यान्डमा स्रोत र कार्यक्रम प्रदेशको हुन्छ भने कार्यान्वयन संघले गर्छ,’ उनले भने, ‘हामीकहाँ मोडालिटीमा स्पष्टता छैन । यसले गर्दा स्रोत विनियोजन गरिएको छ तर खर्च भइरहेको छैन । खर्च भएको छ भने पनि त्यो उत्पादक ढंगबाट भइरहेको छैन ।’
थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङकी संस्थापक लक्की क्षेत्रीले अवसर दिए एडभेन्चर ट्रेकिङ क्षेत्रमा प्रभावकारी ढंगले महिलाले काम गर्न सक्ने धारणा राखिन् । ‘विकास र विस्तारको अभावमा पर्यटन क्षेत्रबाट राज्यले लाभ पाउन सकेको छैन,’ उनले भनिन्, ‘प्राथमिकताका साथ विकास गरियो भने यस क्षेत्रले देशको आर्थिक उन्नतिमा ठूलो योगदान गर्न सक्छ ।’
हिमालमा हुने दुर्घटनाका सन्दर्भमा क्षेत्रीले उद्धारका निकाय काठमाडौंमा सीमित हुनु दुःखद भएको उल्लेख गरिन् । उनका अनुसार अधिकांश उद्धारका कार्य अप्ठ्यारा ठाउँमा गर्नुपर्ने भएकाले दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्छ तर यस्तो जनशक्ति पर्याप्त छैन । उनले अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्ट १० ट्रेकिङ क्षेत्रमा पर्ने भए पनि पोखराका कम्पनीहरू हिमाल आरोहणमा पछि परेको औंल्याइन् ।
पोखराको होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटक आगमनसम्बन्धी सरकारी तथ्यांक यथार्थपरक नभएको टिप्पणी गरे । बोर्डले पारिवारिक भेटघाटका लागि आएका गैरआवासीय नेपालीलाई समेत पर्यटकका रूपमा गणना गरेर आगमनको संख्या ११ लाखभन्दा बढी पुर्याएको उनको भनाइ थियो । ‘विदेशमा रहेका छोराछोरी तथा गैरआवासीय नेपाली जो परिवार तथा आफन्त भेट्न आउँछन्, उनीहरूले होटल, रेस्टुरेन्ट, ट्राभल ट्रेकिङलगायतमा व्यापार दिएका हुँदैनन्, परिवार भेटेर फर्किन्छन्,’ उनले भने, ‘ती पर्यटक नै होइनन् ।’
पोखरामा लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै ७ सयभन्दा बढी र आसपासमा १२ सयभन्दा बढी होटल रहेको उल्लेख गर्दै उनले संघमा भने ४ सय २५ सदस्य मात्रै भएको जानकारी दिए । संघले पनि पर्यटकको यकिन तथ्यांक निकाल्न नसकेको उनले स्वीकार गरे ।
‘सरकारले ३० वर्षदेखि चलेका होटललाई अहिले वातावरणीय प्रभाव मूल्यांकन गरेन भने नवीकरण नहुने भनेको छ,’ उनले भने, ‘२५ कोठाभन्दा माथि वातावरणीय प्रभाव मूल्यांकन गर्ने वा नयाँ बन्ने भवनका लागि अनिवार्य हुने व्यवस्था गरेको भए हुन्थ्यो ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने बलियो सम्भावना रहेको बताए । ‘गण्डकी पर्यटकीय मात्रै नभई उत्पादनका दृष्टिले पनि बलियो बन्न सक्छ । पोखरा औद्योगिक सहर हो, शिक्षा र स्वास्थ्य क्षेत्रमा पोखरा अग्रणी छ । मनाङ र मुस्ताङजस्ता जिल्ला भौगोलिक रूपमा विकट र पूर्वाधारमा कमजोर छन्,’ उनले भने, ‘हिमाली क्षेत्रमा स्याउलगायतको खेती हुने मनग्गे सम्भावना छ तर प्रोत्साहन र बजार पाउन सकेका छैनन् ।’
सार्वजनिक–निजी साझेदारीलाई संस्थागत बनाउन र पर्यटन, उद्यम तथा कृषिबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारको योजना र निजी क्षेत्रको तत्परता चाहिने उनको भनाइ थियो ।
पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्यम र पूर्वाधारमा रहेको सम्भावनालाई गण्डकीले उच्चतम प्रयोग गर्न अझै धेरै बाँकी रहेको सिरोहियाले बताए । संघीयता कार्यान्वयनसम्बन्धी केही कानुन प्रदेशले बनाएको तर प्रदेशका लागि बनाउनुपर्ने केही कानुन संघले नबनाइदिएको पनि उनले उल्लेख गरे ।
‘कतिपय कानुनका सन्दर्भमा प्रदेश अघिअघि, संघ पछिपछि पाउँछौं । गण्डकी प्रदेश सरकारले आम सञ्चारसम्बन्धी उदार कानुन बनाएर आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ,’ उनले भने । सडक पूर्वाधार निर्माणमा जोडिएका हरेक सवाललाई प्राथमिकता दिन पनि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले आग्रह गरे । ‘यस सहरमा काठमाडौं, चितवन, भैरहवाजस्ता गन्तव्यबाट सहजै आवतजावत गर्न मिल्ने सडक पूर्वाधार बनाइदिनुहोस्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन नसक्नु दुर्भाग्य हो ।’
