जमाना '५ जी'को छ, नेपालको संघीयता '२ जी'मा चलेको छ : मुख्यमन्त्री पाण्डे

माघ ९, २०८१

कान्तिपुर संवाददाता

The era belongs to '5G', Nepal's federalism is running on '2G': Chief Minister Pandey

काठमाडौँ — नेपालमा संघीयता लागू भए पनि अहिलेको संघीयतामा कंकालमात्रै रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रमको चौथो सत्र 'संघीयता : भार कि अधिकार ?’मा बोल्दै उनले कंकालमात्रै रहेको संघीयता ‘२ जी’मा चलेको बताएका हुन् ।

‘संघीयताको कुरा गर्दा जमाना '५ जी' छ तर नेपालको संघीयता '२ जी'मा हिँडेको छ । कारण अहिलेको संघीयतामा कंकालमात्रै छ । कंकालमा हातखुट्टा छैन । मुख र दिमाग भरिएकै छैन,’ उनले भने, ‘संविधानमा एकल अधिकार र साझा अधिकारको कुरा उल्लेख छ । कुन अधिकार कसरी र कसले प्रयोग गर्ने भन्नेबारे छलफल गर्न सकिन्छ । एकल अधिकारका बारेमा प्रश्न उठेको छैन, सबैले संघीयता स्वीकार गरेका छन् । तर संविधानलाई चाहिने कानुन बनाउने बेलामा बहानाबाजी भएको छ ।’ 

संघीयता लागू भए पनि संघीयताको मर्मअनुसार कानुन बन्दा प्रश्न उठाउन नमिल्ने उनको भनाइ छ । ‘सरकार बनेको ७ वर्ष भयो, प्रदेश सरकार ५ वर्ष पुगेर पहिलो २ वर्षमा हिँड्दैछ  । संघीयताका बारेमा अहिले नै मूल्यांकन गर्ने बेला भएको छ कि छैन ?,’ उनले भने, ‘त्यो भन्दा पहिलो  कंकाल भर्नुपर्छ कि पर्दैन ? कंकाल बोल्न, हिँड्न, हात चलाउन नसकेको अवस्थामा प्रश्न उठाउन मिल्छ ? केही नदिने र त्यसपछि के गरिस् भनेर प्रश्न उठाउन मिल्दैन ?’

राजनीतिक दलका शीर्ष नेताहरुले नै संघीयता ल्याएको बताउँदै उनले सतही मानसिकताले संघीयता नचाहिने प्रश्न उठाएको पनि बताए ।

कान्तिपुर

Link copied successfully