क्षतिको विवरण बुझ्दै प्रहरी
सोलुखुम्बु — मंगलबार बिहान नेपालको सिमाना नजिकै चीनको सिगात्से आसपासमा गएको ७.१ म्याग्निच्युड (प्रारम्भिक मापन) को भूकम्पको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा झन्डै ३० सेकेन्डभन्दा बढी लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस भएको हो ।
भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । अहिले डर र त्रासले उनीहरु घर बाहिरै बसिरहेका छन् । चिसोमा बिहानै भूकम्प गएपछि सर्वसाधारण ठण्डीमा घर बाहिरै बसिरहेका छन् । भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति भयो भन्नेबारे विवरण सङ्कलनका लागि प्रयत्न भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए । ‘भूकम्पले ठूलो धक्का दिएको छ, जनताहरू घर बाहिरै छन्,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा कुनै क्षति भएको भए सम्पर्क गर्न हामीले सार्वजनिक आव्हान गरेका छौं ।’
यता प्रहरीले पनि सम्भावित क्षति हुन सक्ने स्थानहरूमा सतर्कता बढाएको छ । खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्रविन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनमा लागि परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश मानिस राजधानी तिर बस्दै आएका छन् । सदरमुकाम सल्लेरी बजारका मानिसहरू घरबाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन् ।
