बसोबासको विकल्प नहुँदा गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएको घरमा नै जोखिम मोलेर बस्न बाध्य काभ्रेका स्थानीय
काभ्रे — जाउँ कहाँ गाउँ छाडी, लुक्ने सहर देख्या छैनठूलो महल बनाई बस्ने, त्यो नि मेरो रहर होइनभत्किएको छाप्रो माथि, छाना कहिले होलाबिहान साँझ टन्न पेटमा, खाना कहिले होला
गायक तथा संगीतकार सुरज पण्डितले २ वर्षअघि बजारमा ल्याएको ‘रेलको बाटो २’ गीतमा उल्लेखित हरफजस्तै अवस्था छ, पनौती नगरपालिका–२ स्थित नाँगीडाँडा मैखोरियाका ४३ वर्षीय विष्णुबहादुर तामाङको । गत असोज दोस्रो साताको पहिरोले उनको आँगन क्षत्विक्षत् बनाएको छ । विकल्प नभएपछि डेढ महिनादेखि उनको परिवार जोखिमकै बीच त्यही घरमा बसिरहेको छ ।
‘दैलोमा पाइला राख्नुभन्दा पहिले नै होसियार हुनुपर्छ । पाइला चिप्लिए, पहिरोमा खस्ने डर छ । जोगिएर ओहोरदोहोर गर्नुपर्छ । केटाकेटीलाई जोगाउन त कठिन छ,’ उनले भने । आँगनमा खसेको पहिरोबाट बचेको विष्णुको परिवार अहिले पनि त्रासमा बाँचिरहेको छ । विष्णुका १३ महिना र ७ वर्षका दुई नाति छन् । ‘यी केटाकेटीलाई जोगाउनै गाह्रो छ । आफू बाहिर काममा जाँदा बच्चाहरूलाई कोठामा थुनेर जाने गर्छौं, यतै हुदाँ त गोठालै बस्नुपर्छ, ठूलै मान्छेलाई हिँड्न डर छ, बालबच्चालाई त झन् गाह्रो छ,’ उनले भने ।
डरकै कारण विष्णुले केही दिनयता मात्रै सानो नाति र बुहारीलाई पनौती बजारमा कोठामा खोजेर राखेका छन् । ‘आफ्नो ठाउँ छाडेर जान सकिएन, अर्को ठाउँमा बनाउन जग्गा, पैसा केही छैन,’ उनले भने, ‘जे–जस्तो भए पनि यहाँ बस्नुबाहेक विकल्प छैन, यसैलाई धेरथोर मर्मतको जमर्को गरिरहेका छौं, अहिलेको लागि पर्खाल मात्रै बनाउन पाए पनि अलिकति सुरक्षित भइन्थ्यो कि, त्यो पनि पैसा नभएर गर्न सकेको छैन ।’
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरो प्रभावितलाई गुजाराका लागि प्रतिपरिवार पाँच जनासम्म भएका परिवारलाई १५ हजार र बढी सदस्य भएकालाई २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको १ महिना बितिसक्दा पनि प्रभावितहरूले रकम पाएका छैनन् । ‘सरकारले सहयोग गर्छ भन्ने त सुनेका थियौं,’ उनले भने, ‘हालसम्म कहीँ कतैबाट पाएका छैनौं । सरकारबाट राहत पाए पर्खाल लगाएर अलिअलि भए पनि सुरक्षित हुन्थ्यौं ।’
पनौती–२ स्थित नाँगी नयाँगाउँको डाँडाबाट चारैतिरका पहाडहरू फुटेर चिराचिरा परेका देखिन्छन् । यहीँ धरापमा १० परिवारसहित बस्तुभाउ पालेर स्थानीय ६२ वर्षीय इन्द्रप्रसाद आचार्य बस्दै आएका छन् । पहिरोको एक साता निकै त्रासका साथ घर छेउमै रहेको रूखमुनि बसे पनि अहिले घरमै आएर बसेको उनले बताए । ‘कहाँ जानु, ठाउँ छैन, सहर पुग्न १/२ घण्टा लाग्ने, आफू त जसोतसो जाउँला, यी बस्तुभाउको पीर लाग्ने । यिनलाई कहाँ राख्नु, छोडेर जान पनि सकिएन, जसोतसो बसिरहेका छौं ।’
पहिले नाँगी नयाँगाउँमा इन्द्रप्रसादसँगै ७ परिवारको बसोबास थियो । असोज दोस्रो साताको बाढीपहिरोको जोखिमले गाउँका अन्य ६ परिवार बसाइँ सरिसकेका छन् । ‘आफ्नो त यहाँबाहेक घरजग्गा छैन, यहीँ भएको ठाउँमा पनि बनाउन मिल्ने अवस्थामा छैन,’ उनले भने, ‘अहिले त हिउँद लागेकाले जसोतसो बसेका छौं, पहाडहरू चिराचिरा परेका छन्, ठूलो पानी पर्यो भने जोखिम झन् धेरै छ, बस्तुभाउको बन्दोबस्त गरेर कहीँ बस्ने मिल्ने ठाउँ पाइए अन्तै जानुपर्छ ।’
बेथानचोक गाउँपालिका–३ स्थित बनेपाली टोलकी ७१ वर्षीया डल्लीमाया श्रेष्ठको परिवार डेढ महिनादेखि पहिरो र बाढीले क्षतविक्षत बनाएको घरमा बस्दै आएको छ । ‘माथिबाट पहिरोले हानेको छ, तलबाट बाढीले कपेको छ, घर पूर्णरूपमा जोखिममा छ,’ उनले भनिन्, ‘यहाँ बस्न निकै डर छ, दिनभर यहाँ बस्छौं, सुत्न भने खोलापारि रहेको वृद्धाश्रम जाने गरेका छौं ।’ खेतबारी सबै बाढीपहिरोको जोखिममा परेपछि कहाँ बस्ने, कसरी बनाउने चिन्ता भएको बताइन् । उनले भनिन्, ‘जान पनि कहाँ जाने ? अरू ठाउँमा जग्गा छैन, जग्गा किन्ने पैसा पनि छैन, सधैं यसरी बस्न पनि सकिँदैन ।’
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार वडा–३ को बनेपाली टोलमा १५ घरसहित पालिकाभरि विस्थापित २ सय ८२ जना छन् । उच्च जोखिममा रहेका बस्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पालिकाले योजना बनाइरहेको उनले बताए । त्यस्तै, पनौती–२ स्थित नयाँगाउँ, मैखोरीया, तोरीखोरीया, वडा–१२ को रोशी बजार र कलाँतीका केही क्षेत्र, वडा–११ को थुम्की डाँडालगायतका बस्तीहरू जोखिममा रहेको पनौती नगर प्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने देखिएको छ । यस विषयमा अध्ययनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, विपद् प्राधिकरणलगायतका निकायलाई अनुरोध गरेर चाँडोभन्दा चाँडो बस्ती स्थानान्तरण गर्न अनुरोध गरिएको उनले बताए ।
कात्तिक ५ मा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले बाढीपहिरोका कारण बस्न योग्य नभएको र स्थानान्तरण गर्नुपर्ने बस्ती पहिचान गरी विवरण पठाउन सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको १ महिना बितिसक्दा पनि यस विषयमा सम्बन्धित निकायले कार्यान्वयनका लागि कुनै प्रक्रिया अघि बढाएको छैन ।
यस विषयलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक ताकेता गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार माथिल्लो निकायलाई यहाँबाट अनुरोध गरिएको छ । स्थानीय तहबाट जोखिमयुक्त बस्तीहरूको विवरण माग गरे पनि हालसम्म पहिचान भएर कार्यालयमा कुनै विवरण प्राप्त नभएको उनले बताए ।
विपद्ले काभ्रेका १३ वटा स्थानीय तहमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । कुन स्थानीय तहमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन । ‘स्थानीय तहबाटै आधिकारिक विवरण आइसकेको छैन,’ प्रजिअ ढकालले भने, ‘अहिले डाटा इन्ट्रीको काम भइरहेको छ, त्यहाँबाट विवरण सबै आइसकेपछि कम्पाइल गरेपछि एकमुष्ट विवरण प्राप्त हुन्छ ।’ कार्यालयमा भएको प्रारम्भिक विवरणअनुसार जिल्लामा २८ सय ४४ घर पूर्णरूपमा र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
