मुलुकको समृद्धिका लागि चितवनलाई विकसित बनाएर यसको शक्ति र सम्भावनाको भरपूर उपयोग गर्नुपर्नेमा जोड
काठमाडौँ — चितवनको समृद्धिका लागि पर्यटनसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । पर्यटनको विकासका लागि पूर्वाधार तथा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि स्थिर नीति अत्यावश्यक रहेकामा उनीहरूको जोड छ ।
कान्तिपुर मिडिया ग्रुपले बिहीबार सोल्टी वेस्टइन्ड रिसोर्टमा ‘चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ भन्ने मूल नारासहित ‘चितवन चिन्तन’ आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले प्राकृतिक रूपले सम्पन्न चितवनले पर्यटन तथा शिक्षा र स्वास्थ्य, पूर्वाधारमार्फत मानवीय विकासको पनि नेतृत्व गरिरहेको बताए ।
चितवनले उत्पादन, सेवा, उद्योग, व्यापार, कृषि, शिक्षा तथा स्वास्थ्य र पर्यटन क्षेत्रबाट मुलुकलाई नै भरथेग गरिरहेको छ । यसकारण मुलुकको समृद्धिका लागि चितवनलाई विकसित बनाएर यसको शक्ति र सम्भावनाको भरपूर उपयोग गर्नुपर्नेमा वक्ताहरूको जोड छ । चितवन कृषिजन्य उत्पादन र पर्यटन प्रवर्द्धनमार्फत राम्रो आम्दानी गर्ने सम्भावना बोकेको जिल्ला भएकाले त्यसलाई उजागर गर्नेतर्फ आफू गम्भीर रहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बताए । कार्यक्रमको मुख्य वक्ताका रूपमा उनले सबैखाले सम्भावनाको अध्ययन तथा अनुसन्धान गरेर योजनाबद्ध विकासमा सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए ।
‘औद्योगिक उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै आन्तरिक तथा बाह्य व्यापार प्रवर्द्धन गर्न प्रदेशले छुट्टै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरेको छ,’ उनले भने, ‘उद्योग–कलकारखाना स्थापना, विकास र विस्तारबिना उत्पादन र रोजगारीको सम्भावना देखिन्न । उद्योग स्थापनाका लागि लगानी आकर्षित गर्न जरुरी छ ।’ त्यसैले स्वदेशी तथा विदेशी लगानी बढाएर उद्योग व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन प्रदेश लगानी बोर्ड स्थापना गर्न प्रदेश सरकार लागिपरेको उनले जनाए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चितवनलाई पर्यटकीय केन्द्र बनाएर अघि बढ्नुपर्ने बताए । ‘चितवन हिमाल, पहाड र तराईको मध्यबिन्दु हो, मेची–महाकालीको बीचमा छ,’ चौथो सत्र ‘पर्यटनको मार्ग समृद्धिको चित्र’ मा उनले भने, ‘काठमाडौंसँग नजिक छ, वाग्मती सरकारले पर्यटकीय राजधानी भनेर निर्णय गरेको छ, पोखरासँग पनि नजिक छ । चितवनलाई पर्यटकीय दृष्टिबाट केन्द्र नै बनाएर अघि बढ्न सकिन्छ ।’ एयरलाइन्स कम्पनीलाई सेवा सुविधा दिएर भए पनि भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न कार्ययोजना पारित भइसकेको उनले बताए ।
पर्याप्त हवाई यातायात सञ्जाल अभाव र सडक पूर्वाधारसमेत निकै कमजोर रहेकाले पर्यटक आवागमन प्रभावित भइरहेको पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ छ । ‘हवाईमार्गमार्फत जति पर्यटक आउनुपर्ने हो, पर्याप्त उडान नहुँदा समस्या छ,’ उनले भने, ‘सडक जताततै भत्काउने र बनाउने गरिनाले पर्यटक आवागमन प्रभावित भइरहेको छ ।’ पर्यटन क्षेत्रका व्यवसायीलाई अनुदान र सहुलियत ब्याजमा कर्जा प्रदान गरिनुपर्ने घिमिरेको सुझाव छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विकासको पहिलो खुट्किलो नै सडक सञ्जाल भएको बताइन् । ‘हिजो भरतपुर बजारबाट मेघौली जान दुई घण्टा लाग्थ्यो । अहिले आधा घण्टामै पुगिन्छ । यसको प्रत्यक्ष लाभ यहाँका नागरिकलाई पुगेको छ,’ उनले भनिन् । देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित भरतपुर वा समग्र चितवन जिल्ला अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको दाहालको दाबी छ ।
सडक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा स्वास्थ्यलगायत सबै क्षेत्रमा सन्तुलित विकासको खाकाअनुसार आफूहरू अघि बढेको नगर प्रमुख दाहालले उल्लेख गरिन् । ‘भरतपुरले विकासको जुन लय पक्रिएको छ, भविष्यमा यो लयलाई निरन्तरता दिन सक्यौं भने दोस्रो पर्यटकीय गन्तव्य बन्छ’, उनले भनिन् । भरतपुरमा आर्थिक गतिविधि बढाउन र लगानी भित्र्याउन पनि अनुकूल वातावरण सिर्जनामा आफू गम्भीर रहेको दाहालको भनाइ छ । ‘लगानीकर्तालाई आकर्षित गर्न बाटो–घाटो, बिजुली बत्ती, आईटी सुविधा उपलब्ध गराउन र आवागमन एवं बसाइ सुरक्षित बनाउने अवस्था सिर्जना गर्न खोज्दै छौं । लगानीकर्तालाई म ढुक्क भएर भरतपुरमा लगानी गर्न अनुरोध गर्छु,’ उनले थपिन् ।
चितवनको समृद्धिका लागि यस क्षेत्रको उद्यम र सेवालाई व्यवसायसँग जोड्नुपर्ने चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताए । व्यावसायिक रूपमा सफल भएपछि मात्र पर्यटनको विस्तार हुने उनले जनाए । यस क्षेत्रका संस्कृति, सम्पदा, परम्परालगायतको सम्भावना धेरै रहे पनि पूर्णरूपमा व्यवसायसँग जोडिन नसक्दा समस्या देखिएको उनले सुनाए ।
अनुकूल नीतिको अभावमा चितवनलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउन नसकिएकाले शिक्षा र स्वास्थ्य क्षेत्रबाट अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको मदन भण्डारी एकेडेमी अफ हेल्थ साइसेन्जकी सहप्राध्यापक इन्दिरा अधिकारी पौडेलले जनाइन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव चुनौती रहेकाले त्यसको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा परिरहेको उनले बताइन् ।
नर्सिङ पढाइ हुने कलेज सरकारी नीति र कानुनका कारण बन्द हुने अवस्थामा पुगेको उनले जनाइन् । ‘हाम्रो मानवशक्ति विदेश पलायन भइरहेको छ,’ उनले भनिन्, ‘यहाँ तयार भएको सबै जनशक्ति बाहिर पठाउने भन्ने होइन, तर यहीँ राख्न सकिएन भने भविष्यमा जनशक्ति अभाव हुने खतरा छ ।’
सरकारले चितवनलाई मेडिकल सिटीका रूपमा मान्यता दिनुपर्ने चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले बताए । ‘यो कुरा कुनै ऐन, कानुन, नीति नियम तथा कार्यविधिमा लेख्नुपर्छ,’ उनले भने, ‘चितवनलाई मेडिकल सिटी बनाएपछि लमजुङ, तनहुँलगायत देशको जनसुकै ठाउँबाट बिरामी आउँदा अन्यत्रभन्दा सर्वसुलभ सेवा हामीले दिनुपर्छ ।’ चितवन स्वास्थ्य उपचारको हिसाबमा अघि रहेको उनको भनाइ छ ।
मेडिकल क्षेत्रका समस्यालाई राज्यले नीतिमार्फत सम्बोधन गर्नुपर्ने भरतपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर शिवजी पौडेलले जनाए । ‘हामी धेरै अगाडि सोचिरहेका छौं, चितवनलाई पर्यटकीय स्थलसँगै मेडिकल सिटी बनाउन खोजिरहेका छौं,’ उनले भने, ‘यसलाई राज्यले कसरी सम्बोधन गर्छ, हेर्न बाँकी छ ।’
संघीय व्यवस्थासँग मेल खाने नीति बनाएर विदेश पलायन हुने जनशक्तिलाई नेपालमै राख्न सकिने वाग्मती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले बताए । ‘प्रदेशको नीतिले मात्र यसलाई रोक्न सक्दैन,’ उनले भने ।
