काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न विभिन्न सेवा सुविधा दिए पनि एयरलाइन्स कम्पनीहरुले आवेदन नदिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को चौथो सत्र ‘पर्यटनको माग समृद्धिको चित्र’ मा पर्यटनमन्त्री पाण्डेले सहुलियत सुविधा दिएर विमानस्थल सञ्चालन गर्न कार्ययोजना नै पास गरेको बताए ।
अन्य विमानस्थलन सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा दोब्बर यात्रु बोकिरहेको भए पनि अन्य विमानस्थलमा एयरलाइन्स कम्पनीले चासो नदेखाएको उनले बताए ।
‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थाल, पोखरा क्षेत्रीय विमानस्थल दुई वर्षका लागि सहुलियतमा सञ्चालन गर्न हामीले कार्ययोजना नै पास गरेका छौं,’ उनले भने, ‘एयरलाइन्सले सहुलियतमा आफ्नो सेवा सञ्चालन गरोस् भनेर विभिन्न सुविधा ल्याएका छौं ।’
एयरलाइन्सहरुका लागि फ्युलको मूल्य घटाउने, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लिने शूल्क हटाउने सुविधा ल्याएको उनले जनाए । साथै एयरलाइन्सको टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को विषय टुंगिनसकेको उनको भनाइ छ ।
पोखरा र भैरहवामै श्रमिकका लागि अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन स्थापना गर्ने गरी कार्ययोजना पास गरेको उनले बताए । ‘सरकारले विभिन्न सेवा सुविधा घोषणा गर्दा पनि पोखरामा नयाँ कुनै एयरलाइसेन्सले आवेदन दिएन, भैरहवामा दुई तीनवटा एयरलाइसेन्स आउने भनेको छ,’ उनले भने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुलाई काठमाडौंबाट बाहिर उड्ने बानी कसरी बसाउने र आकर्षण कसरी थप्ने भन्ने मुख्य चुनौति रहेको उनको भनाइ छ ।
