जुन लयमा भरतपुरको विकास भइरहेको छ, यो चाँडै देशको दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ : रेणु दाहाल

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

The pace at which Bharatpur is developing, it is likely to become the second tourist destination of the country soon: Renu Dahal

काठमाडौँ — भरतपुर महानगरपालिकाकी नगर प्रमुख र‍ेणु दाहालले देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित भरतपुर वा समग्र चितवन जिल्ला अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताएकी छन् । पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्लो सात वर्षमा उल्लेख्य फड्को मारेको उनको दाबी छ ।  

कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को चौथो तथा अन्तिम सत्र ‘चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ मा बोल्दै नगर प्रमुख दाहालले सडक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा स्वास्थ लगायत सबै क्षेत्रमा सन्तुलित विकासको खाका अनुसार आफूहरू अघि बढेको उल्लेख गरिन् ।  

‘भरतपुरलाई देशको तेस्रो पर्यटकीय गन्तव्यबाट दोस्रो बनाउन हामी कडा प्रतिस्पर्धामा छौं,’ उनले भनिन्, ‘भरतपुरले विकासको जुन लय पक्रिएको छ, भोलिको दिनमा यो लयलाई निरन्तरता दिन सक्यौं भने दोस्रो पर्यटीयक गन्तव्य बन्न सक्ने प्रबल सम्भावना पनि छ ।’ हाल काठमाडौं र पोखरापछि चितवनमा उल्लेख्य मात्रामा पर्यटकको आवागमन हुने गरेको छ । 

सडक पूर्वाधार विकासमा राम्रो जस पाउने गरी नगर प्रमुख दाहालले विकासको पहिलो खुड्किलो नै सडक सञ्जाल भएको मत जाहेर गरिन् । सडक सञ्जालले जनताको जीवनस्तर सुधार्न मद्दत गरेको भन्दै उनले थपिन्, ‘हिजो भरतपुर बजारबाट मेघौली जान २ घण्टा लाग्थ्यो । जान र आउनमै एक दिन बित्ने गरेकमा अहिले आधा घण्टामै पुगिन्छ । यसको प्रत्यक्ष लाभ यहाँका नागरिकलाई पुगेको छ ।’  

कार्यक्रममा उनले पर्यटन प्रवर्द्धनसँगै आफूले भरतपुरमा आर्थिक गतिविधि बढाउन र लगानी भित्र्याउन पनि अनुकुल वातावरण सिर्जनामा आफू गम्भिर रहेको भनाइ राखिन् ।

‘पछिल्लो आर्थिक मन्दीका कारण व्याप्त निराशालाई चिर्न, आर्थिक गतिविधि चलायमान बनाउन र भरतपुरबासीमा उत्साह जगाउँ भन्ने उदेश्यले हामीले भरतपुर भ्रमण वर्ष २०२४ घोषणा गरेका थियौं,’ उनले भनिन्, ‘लगानीकर्तालाई आकर्षित गर्न बाटो-घाटो, बिजुली बत्ती, आइटी सुविधा उपलब्ध गराउन र आवागमन एवं बसाइ सुरक्षित बनाउने अवस्था सिर्जना गर्न खोज्दै छौं । लगानीकर्ताहरूलाई म ढुक्क भएर भरतपुरमा लगानी गर्न अनुरोध गर्छु ।’ 

कान्तिपुर

Link copied successfully