जीडीपीमा पर्यटनको योगदान ५ प्रतिशत मात्रै : पर्यटनमन्त्री पाण्डे

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Tourism's contribution to GDP is only 5 percent: Tourism Minister Pandey

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत मात्रै रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को चौथो सत्र ‘पर्यटनको माग समृद्धिको चित्र’ मा पर्यटनमन्त्री पाण्डेले  जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन अझै धेरै मिहिनेत गर्नुपर्ने बताएका हुन् ।

‘माल्दिभ्सको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत पर्यटन क्षेत्रको योगदान ८० प्रतिशत छ भने नेपालमा ५ प्रतिशत मात्रै छ, हामीले निकै मिहिनेत गर्नुपर्छ,’ उनले भने । 

चितवनलाई पर्यटकीय दृष्ट्रिकोणले इपी सेन्टर नै बनाएर अघि बढ्ने सम्भावना रहेको समेत उनले बताए । ‘चितवन हिमाल, पहाड र तराईको मध्यविन्दु हो, मेची महाकालीबीचमा रहेको चितवन,’ उनले भने, ‘काठमाडौंसँग पनि चितवन नजिक छ, वाग्मती सरकारले  पर्यटकिय राजधानी भनेर निर्णय समेत गरेको छ, पोखरासँग पनि नजिक  छ, त्यसैले चितवनलाई पर्यटकीय दृष्ट्रिकोणले इपी सेन्टर नै बनाएर अघि बढ्न सक्ने सम्भावना छ ।’

साथै प्रकृति र संस्कृतिको व्यापकताका लागि नागरिक उड्डयन महत्त्वपूर्ण संवाहक रहेको समेत उनको भनाइ छ । ‘नेपालको आकाश सुरक्षित छ भन्ने आभास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘जुनसुकै बेला प्लेन, हेलिकप्टर चढ्न सक्छौं भन्ने सुनिश्चितता नगर्दा हामी हामी पछाडि परेका छौं, नेपालको आकाश सुचारु पनि छ, गतिशील छ भनेर भन्नसक्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully