काठमाडौँ — सरकारले एकैचोटी नीतिहरु कार्यान्वयनमा ल्याउँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको खतरा रहेको मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सेजकी सहप्राध्यापक इन्दिरा अधिकारी पौडेलले बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’को तेस्रो सत्र शिक्षा र स्वास्थ्यमा लगानी : चितवनको चिनारी विषयक कार्यक्रममा बोल्दै उनले जनशक्ति कम उत्पादन भएपछि त्यसको असर प्रत्यक्ष स्वास्थ्य क्षेत्रमा पर्ने बताइन् ।
‘हाम्रो मानवशक्ति जति छ, त्यो विदेश पलायन भइरहेको छ,’ उनले भनिन्, ‘यो भन्दैमा यहाँ तयार भएको सबै जनशक्ति बाहिर पठाउने भन्ने होइन, तर यहीं राख्न सकिएन भने जनशक्ति अभाव हुने खतरा छ ।’ उनकाअनुसार २०७५ साल अघिसम्म चितवनमा पीसीएल नर्सिङ पढाइ हुने दसवटा कलेज रहेकोमा सरकारी नीति र कानुनले गर्दा कलेजहरु भएका छन् ।
‘२०७५ सालपछि कलेज बन्द हुँदा नर्सको जनशक्ति उत्पादन रोकियो, तर जति पनि जनशक्ति तयार भएको छ, त्यो बाहिर सप्लाइ भइरहेको छ,’ उनले भनिन्, ‘त्यसैले एकैचोटी नीति ल्याउँदा जनशक्ति उत्पादनमा असर पर्ने र जनशक्ति कम उत्पादन भएपछि त्यसको असर स्वास्थ्य क्षेत्रमा पर्ने हुन्छ ।’
अहिलेसम्म स्वास्थ्य क्षेत्रमा जनशक्ति पर्याप्त भए पनि भोलिका दिनमा जनशक्तिको संकट आउनेतर्फ उनले सचेत गराइन् । ‘तर यस्तै रहे अबको दुई/तीन वर्षमा जनशक्ति अभाव हुन्छ, कस्तो किसिमको नीति बनाउँदा सहज हुन्छ, त्यसमा ध्यान दिन जरुरी छ,’ उनले भनिन्, ‘त्यसैले अब बनाइने र कार्यान्वयन गरिने नीतिमा ध्यान दिन जरुरी छ ।’ कति उत्पादन चाहिन्छ, उत्पादन भएको जनशक्तिको कस्तो माग छ र त्यो जनशक्ति कहाँ सप्लाई भइरहेको छ भन्ने कुरामा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।
‘त्यसैले सम्बन्धित निकाय, सरोकारवाला निकाय र अधिकार प्राप्त निकायले जनशक्ति उत्पादन बढाउने नीति तथा योजना बनाउन अत्यन्त आवश्यक छ,’ उनले भनिन्, ‘नत्र भए भोलिका दिनमा यो क्षेत्रमा हामीले जनशक्तिको अभाव व्यहोर्नु पर्ने निश्चित छ ।’
