२५ करोडले अब मेडिकल कलेज चलाउन सकिँदैन : डा. पौडेल 

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Medical college cannot be run with 25 crores now: Dr. Paudel

काठमाडौँ — भरतपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर शिवजी पौडेलले कर कोषबाट प्राप्त हुने न्यून रकमले देशकै यति ठूलो मेडिकल कलेज सञ्चालन र गुणस्तरिय सेवा दिन कठिनाइ हुने गरेको आशय व्यक्त गरेका छन् ।   

कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को तेस्रो सत्रमा डाक्टर पौडेलले कर कोषबाट वार्षिक करिब २५ करोड रुपैयाँ आउने गरेको र त्यसैले अस्पताल चलाउनु परेको बताए । उनका अनुसार गत आर्थिक वर्षको वार्षिक खर्च भने १ अर्ब ८ करोड रूपैयाँ थियो ।    

‘क्यान्सर अस्पतालको कर कोषमा एक खिल्ली चुरोटबाट एक पैसा आउँछ र त्यही पैसाले अस्पताल चलाउनुपर्छ भनेर २०४३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री लि फङबीच सम्झौता भएर २०४९ सालमा यो अस्पताल स्थापना भएको हो,’ उनले भने, ‘त्यो बेला सय बेडमा अस्पताल सञ्चालन हुँदा कर कोषबाट आउने ३३/३४ करोड रुपैयाँ क्रमश: घट्दै गएर अहिले करिब २५ करोडमा झरेको छ । त्यो पैसाले आज ४५० शय्याको अस्पताल कसरी चल्छ ? २५ करोडले अब मेडिकल कलेज चलाउन सकिँदैन ।’ 

तथापि मेडिकल कलेजले सरल, सुलभ र गुणस्तरिय सेवालाई आफ्नो धर्म ठानेर चालु आवमा ५० बेड थपेर ५०० बेड पुर्‍याउन लागेको उनले जानकारी दिए  । कहाँ लगानी गर्ने, कति लगानी गर्ने भन्नेमा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘ठाउँ-ठाउँमा घर बनाएर पिलर मात्रै ठड्याएर नबसौं,’ उनको आग्रह थियो, ‘बरु बनेर तयार घरलाई सुसञ्जित गरौं, आवश्यक उपकरण परिपूर्ति गरौं ।’ 

कान्तिपुर

Link copied successfully