विदेशबाट ट्रकका ट्रक केरा आएको देखेपछि केरा खेतीमा लागेँ : घननाथ महतो

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

After seeing truckloads of bananas coming from abroad, I started banana farming: Ghannath Mahato

काठमाडौँ — चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष घननाथ महतोले विदेशबाट ट्रकका ट्रक केरा आयात हुने देखेपछि आफैं केरा खेतीमा लागेको अनुभव सुनाएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानको मुद्दा’ मा  महतोले स्नातकोत्तर सके पछि के गर्ने भनिरहेका बेलामा ट्रकका ट्रक केरा आयात हुने देखेपछि केरा खेतीमा लागेको सुनाएका हुन् ।

‘मनलाई स्थिर राखेर केही गर्छु भनेर हिँडेपछि सफल भइने रहेछ,’ महतोले भने । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध भएपनि अर्बौको कृषिलगायतउद्योगजन्य वस्तु आयात गर्नु परेको उनले जनाए । ‘हिजाका पुर्खाहरुले कृषि कर्म गरेर आफूलाई पुर्‍याएर विदेशमा खाद्यान्न निर्यात गर्थे, तर आज अर्बौको कृषिलगायत उद्योगजन्य वस्तु आयात गरिरहेका छौं,’ उनले भने, ‘ नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध हुँदा पनि आयात गर्नुपर्ने अवस्था छ ।’

इजरायलमा ३ प्रतिशत किसानले खेती गरेर आत्मनिर्भर भएर निर्यात गरे पनि नेपालमा आन्तरिक माग नै पूरा नहुने उनले बताए । ‘६५ प्रतिशत जनसंख्या कृषिमा लाग्दा पनि नेपालमा खानै पुग्दैन, हाम्रोमा के समस्या छ ? पहिल्याएर अघि बढ्नु पर्छ ?,’ उनले भने ।

बंगलादेश, कोरिया, जापान र नेपाल कुनै समय अल्पविकसित भएपनि नेपालबाहेक अन्य मुलुक समृद्ध भएर अन्य मुलुकमा निर्यात गर्न थालेको समेत उनले सुनाए । ‘ बंगलादेश, कोरिया र जापानले देशविदेशमा निर्यात गर्ने भए, अन्य मुलुकमा समेत बजार लिने भए, तर हामी आज के हेरेर बसेका छौं ?,’ उनल भने । 

कान्तिपुर

Link copied successfully