मिल्क होलिडे हुन नदिन अब सरकारले दूधलाई पाउडरमा परिणत गर्छ : कृषिमन्त्री अधिकारी

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

To prevent milk holiday, the government will now turn milk into powder: Agriculture Minister Adhikari

काठमाडौँ — नेपालको कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान ‘मिल्क होलिडे’ को समस्या अन्त्य गर्न सरकारले अब दूधलाई पाउडरमा परिणत गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आश्वासन दिएका छन् । विशेषगरी भदौ, असोज महिनामा दूधको वृद्धि बढेर व्यावसायीले किसानबाट दूध नलिने स्थितिलाई टार्न कठिन हुने भए पनि उनले अबका दिनमा धुलो दूधतर्फ केन्द्रित हुने उपाय अपनाउन लागेको बताए ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन : चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रममा मन्त्री अधिकारीले मिल्क होलिडे नहोस् भन्नका लागि आफू गम्भीर रहेको धारणा राखे ।

कार्यक्रमको दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’ मा बोल्दै उनले भने, ‘हामीले आजसम्म किसानसँग दूध लिने र बिक्री नभए पाउडरका रूपमा प्रयोग गर्ने कामसमेत राम्रो ढंगले गर्न सकेका रहेनछौं । म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, अब मिल्क होलिडे नहोस् भन्नका लागि दूधलाई धुलो दूधमा परिणत गराउँदै अगाडि बढ्ने योजनामा सरकार लागेको छ ।’

उनले आफू मन्त्री हुँदै गर्दा सुरुमा मिल्क होलिडेको परिस्थिति सिर्जना गर्न नदिने अठोट लिए पनि हाल त्यो सोचमा परिवर्तन आएको बताए । ‘भदौ, असोजदेखि दूधको वृद्धि हुने रहेछ, हामीले जति धान्न सक्नुपर्ने त्यो धान्न सक्ने  स्थिति भएपछि किसानहरूबाट दूध नलिने स्थिति आउँदो रहेछ,’ उनले भने, ‘मिल्क होलिडेमा लाग्नुपर्ने बाध्यता रहेछ ।’

राज्यकै एक निकायले किसानसँग उधारोमा दूध किनेर ३०/३५ रुपैयाँ फाइदा राखेर उपभोक्तालाई नगदमा बिक्री गर्ने अनि किसानले पैसा नपाउने अवस्था रहनु बिडम्बना भएको दुःखेसो पोखे । ‘यस्तोमा मैले भनेका कुराले कति साथ पाउँछ ?’ उनले भने, ‘मैले यस्तो मन्त्रालय सम्हालेर बसेको छु । तर आगामी दिनमा त्यस्तो कमजोरी र बदमासी नहोस् भनेर कृषि मन्त्रालय सजग छ ।’ 

चितवनले दैनिक ३ लाख ५० हजार दूध उत्पादन गर्दै आएको छ । त्यहाँ ४० हजार किसान दूध उत्पादन व्यवसायमा छन् भने ११० वटा दूधका सहकारी छन् ।  

कान्तिपुर

Link copied successfully