संघीय सरकारले कानुन नबनाउँदा कर उठाउन समस्या  

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

The problem of collecting taxes when the federal government does not enact laws

काठमाडौँ — संघीय सरकारले कानुन नबनाउँदा प्रदेशमा कर उठाउन समस्या भएको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’ को पहिलो सत्र ‘अर्थतन्त्रको आधार : उद्योग कि व्यापार ?’ मा बोल्दै मन्त्री काफ्लेले कृषिमा मात्र कर उठाउन दिइएको बताए । ‘सम्पूर्ण रुपमा कर उठाउने अधिकार कृषि क्षेत्रमा दिइएको छ,’ उनले भने, ‘कृषिमा अहिले के कर उठाउने ? जनता नै मारमा परेका छन्, त्यसैले कृषकको घरघरमा गएर कर उठाउने अवस्था छैन ।’ उनले अहिले केही कठिनाइ भएपनि भोलिका दिनमा यो क्षेत्रको सम्भावना प्रचुर रहेको बताए । मन्त्री काफ्लेले अन्य प्रदेश भन्दा वाग्मती पुँजीगत खर्चमा अघि रहेको दाबी गरे ।

‘गत आर्थिक वर्षमा यो प्रदेशले ७२ प्रतिशत पुँजीगत खर्च गरेको छ,’ उनले भने, ‘प्रदेशका गौरवका आयोजनाहरूमा अनुगमन गरेर खर्च के कसरी भइरहेको छ हेर्ने गरेका छौं, जसले गर्दा पनि विकास खर्च राम्रै छ ।’  

प्रदेशका संरचनाहरुमा सुधार भइरहेकाले चालु आर्थिक वर्षमा खर्च प्रतिशत बढ्ने उनको दाबी छ । त्यस्तै कृषि पहिलो, उद्योग दोस्रो र सेवालाई तेस्रो नम्बरमा राख्नुपर्नेमा उद्योग तेस्रो भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully