कृषिको औद्योगीकरणबिना आर्थिक समृद्धि सम्भव छैन : निवर्तमान अध्यक्ष कँडेल

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Economic prosperity is not possible without industrialization of agriculture: outgoing president Kandel

काठमाडौँ — चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले कृषिलाई औद्योगीकरण नगरेसम्म आर्थिक समृद्धि सम्भव नरहेको बताएका छन् ।  

 कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को पहिलाे सत्र 'अर्थतन्त्रको आधार : उद्याेग कि व्यापार ?'  मा निवर्तमान अध्यक्ष कँडेलले राज्यका कृषि नीति व्यावहारिक नरहेकाले पनि कृषिलाई औद्योगीकरण गर्न नसकिने बताएका हुन् ।

राज्यका कृषि नीतिहरु व्यावहारिक नभएको भन्दै उनले प्रविधिमैत्री नीति आवश्यक रहेको बताए । साथै कृषिमा दिइने अनुदानसमेत वैज्ञानिक नरहेको उनले जनाए । ‘हाम्रोमा कृषिमा दिइने अनुदान वैज्ञानिक छैन, अनुदान लिनेको तथ्यांक छैन,’ उनले भने, ‘ऋणमा आधारित अनुदान दिएर कहिले प्रगति हुने ? सरकारले उत्पादनमा आधारित अनुदानको व्यवस्था कहिले गर्ने ? ’

भारतमा आफ्नो उत्पादन सीमापारि लगेर बेच्छ भने भाडामा शतप्रतिशत अनुदान दिइने गरेको समेत उनले सुनाए । ‘भारतको गाजियावादको उत्पादन नेपालको कालीमाटी बजारमा आइपुग्दा प्रतिटन ८० हजार हुन्छ, व्यवसायीले त्यसको एक लाखको बिल बनाउँछन् । भाडामा २० हजार रुपैया कमाउँछ,’ उनले भने, ‘चितवनमा गरेका उत्पादन १ सय ४६ किलोमिटर टाढा काठमाडौं पठाउँदा प्रतिकिलो ५ रुपैयाँ भाडा खर्च हुन्छ । अनि चितवनका किसानले कसरी प्रतिस्पर्धा गर्ने ?’ आधिकारिक बजारीकरणका लागि राज्यको स्रोत र व्यवस्थापन नरहेको समेत उनले जनाए ।

सरकारले कृषिमा अनुदान भनेर ऋण दिए पनि पहुँच भएकाले मात्रै पाउने गरेको उनले सुनाए । ‘पहुँच भएकाले मात्रै अनुदान पाउँछ, जसको पहुँच छैन, उसले पाउँदैन,’ उनले भने, ‘जसले ५ करोड ऋण लिन्छ कृषिमा ५० लाख नै खर्च गर्दैन । अनि उत्पादन कहाँबाट बढ्छ ?’

कान्तिपुर

Link copied successfully