स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै छौं : मुख्यमन्त्री लामा

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

We are creating employment opportunities at home: Chief Minister Lama

काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले माध्यमिक शिक्षा पूरा गर्नेवित्तिकै विदेशिने यूवाहरुलाई स्वदेशमै रोक्न रोजगारीका अवसर दिलाउने काम भइरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवनको शक्ति, सम्भावना, समस्या र समाधानको खोजी गर्न चितवनमा आयोजित चितवन चिन्तन’ कार्यक्रममा मुख्यमन्त्री तामाङले अवसरको खोजीमा युवाहरु विदेशिने प्रवृत्ति रोक्नु आजको ठूलो चुनौति रहेको बताएका हुन् ।

यस प्रकारको चुनौतीलाई मुकाबिला गर्न प्रदेश सरकार गम्भीर रुपमा लागेको छ । स्वदेशमा अवसरको अभाव देखाउँदै माध्यमिक शिक्षा पूरा गर्नेवित्तिकै विदेशिने युवाहरुलाई रोक्न र स्वदेशमा नै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिराखेको उनले बताए ।

‘शैक्षिक संस्था र उद्योग वाणिज्य क्षेत्रसँग सहकार्य गरेर यूवा विद्यार्थीहरुको सीप र प्रतिभालाई उद्यमशिलतामा परिणत गर्न सहयोग गर्दैछौँ । यति मात्रै नभई हाम्रो शिक्षा सीपसँग जोडिएन, रोजगारी सँग जोडिएन र उत्पादनसँग जोडिएन भन्ने ठूलो गुनासो छ,’ उनले भने, ‘यस गुनासोलाई केही हदसम्म संवोधन गर्ने हिसाबले शैक्षिक संस्था र उद्योगबीच सहकार्य गरेर औद्योगिक प्रशिक्षार्थी कार्यक्रम मार्फत विद्यार्थीले उद्योगमा नै गएर सीप सिक्ने अवसरको सिर्जना गरेका छौँ ।’

कान्तिपुर

Link copied successfully