चितवन वाग्मती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य : मुख्यमन्त्री तामाङ

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Chitwan is the main tourist destination of Wagmati Province: Chief Minister Tamang

काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चितवन वागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रहेको बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन : चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रमका मुख्य वक्ता मुख्यमन्त्री तामाङले उक्त भनाइ राखेका हुन् । 

‘चितवन वाग्मती प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रहेको जिल्ला हो,’ उनले भने, ‘यो गन्तव्यलाई थप व्यवस्थित बनाउन जरुरी छ । चितवनको सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ विकास गर्ने योजना बनाएका छाैं ।’ 

कार्यक्रममा उनले रैथाने र स्थानीय कृषि वस्तु र उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्न अति आवश्यक देखिएको बताए । ‘प्रदेशभित्रको रैथाने खानाहरूको पहिचान गर्ने र पेटेन्ट दर्ता गरेर होटलहरूमा मेनु नै बनाएर राख्नु पर्दछ,’ उनले थपे ।

यसैगरी मुख्यमन्त्री तामाङले वाग्मती प्रदेशको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रचारमार्फत अर्थतन्त्रको आधार निर्माण गर्ने, पर्यटन उद्योगको विकास गर्ने र पर्यटन संस्कृतिको विकास गर्न प्रदेश सरकार लागिपरेको बताए ।

यसैगरी पर्यटन क्षेत्रलाई विकास गर्नका लागि प्रदेशको नीति र पर्यटन गुरूयोजना बनाएर पर्यटन विकासका दीर्घकालीन रणनीतिक कार्यक्रम संचालन गर्ने सोच प्रदेश सरकारले बनाएको पनि उनले जानकारी दिए ।

चितवन चिन्तन

कान्तिपुर

Link copied successfully