काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले संघीयता कार्यान्वयनपछि केन्द्रबाट प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण र शक्तिशाली बनाउने उद्देश्यले चितवन चिन्तन कार्यक्रम आयोजना गरिएकोबताएका छन् । चितवनमा सुरु भएको चितवन चिन्तन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सिरोहियाले यस्तो बताएका हुन् ।
आम किसान हुन् कि उद्योगी, व्यापारी हुन् कि बेराजगार— समग्र समाजका साझा सरोकारका मुद्दामाथि सर्वपक्षीय सार्वजनिक बहस हुनुपर्छ भन्ने मान्यताका साथ यस्ता कार्यक्रमलाई झन् बढी प्राथमिकतामा राखेर कान्तिपुर मिडिया ग्रुप चितवन आइपुगेका उनले बताए । राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल गरिरह“दा समग्रमा वाग्मती प्रदेश त्यसमाथि मकवानपुरदेखि चितवनसम्मका मुद्दा उठान नगरी हु“दैन भन्ने आफूहरूको निष्कर्ष रहेको उनको भनाइ छ ।
‘मुलुक संघीयतामा गएसँगै संघीयताकै मुद्दामा केन्द्रित रहेर सबैभन्दा पहिला यस्तो कार्यक्रम मधेश प्रदेशबाटै सुरुवात गरेका थियौं, जुन बहस हामीले संघीयता कार्यान्वयन र प्रदेश तथा स्थानीय तहलाई अधिकार हस्तान्तरण तथा शक्तिशाली बनाउने उद्देश्यले प्रेरित थियो,’ उनले भने, ‘तर, संघीयता तथा राजनीतिक विषयमा मात्रै केन्द्रित नगरेर पछिल्लो समय हाम्रा समग्र कार्यक्रम आर्थिक उन्नतिको मार्ग पहिल्याउनेतर्फ केन्द्रित छन् ।’ विकास र आर्थिक मुद्दालाई केन्द्रमा राखेर विराटनगर, वीरगञ्ज र भैरहवा जस्ता महत्त्वपूर्ण सहरहरूमा यस्ता कार्यक्रम गरिसकेका छौं । काठमाडौंमा हरेक वर्ष एजुकेसन समिति र इकोनमिक समिटलगायत कार्यक्रम गर्दै आएको पनि उनले जानकारी दिए ।
कनेक्टिभिटीका दृष्टिले चितवन र वाग्मती प्रदेशको राजधानी हेटौंडा संघीय राजधानी काठमाडौं, दुई छिमेकी प्रदेश भैरहवा र गण्डकीको बीचमा पर्छ । छिमेकी मुलुक भारतसमेत छोटो दूरीमै छ । पूर्वाधारको बृहत्तर विकासका लागि ‘ग्रेटर चितवन’ले हेटौंडालाई समेत नजिक ल्याउँदै छ । मुलुकको मध्यभागमा अवस्थित यस क्षेत्रमा ७७ जिल्लाकै समुदाय, जातजाति, भाषा, धर्म, संस्कृति र पयर्टनको संगमस्थलसमेत हो । विश्वसम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जका सयौं पन्छी र वन्यजन्तुसहित विश्वमै दुर्लभ एकसिंगे गैंडासमेत चितवनका चिनारी भएको उनले बताए ।
‘प्राकृतिक रूपमा सम्पन्न यस क्षेत्रमा शिक्षा र स्वास्थ्य पूर्वाधारमार्फत मानवीय विकासको पनि नेतृत्व गरिरहेको छ । भरतपुरमै विशेषज्ञ सेवासहितका चार दर्जन ठूला अस्पताल रहेको ‘हेल्थ सर्भिस हब’ का रूपमा विकास भइरहेको छ,’ उनले भने, ‘कृषि तथा वन विश्वविद्यालयस“गै इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन र समाजशास्त्रका विविध विषयमा अध्यापन गराउने शिक्षालयले प्रतिस्पर्धात्मक सेवा दिइरहेका छन् ।’
तोरी, कुखुरा, केरादेखि माछा उत्पादन, कुटिर उद्योगदेखि बहुराष्ट्रिय कम्पनी, होमस्टेदेखि सुविधासम्पन्न होटल तथा रिसोर्ट चितवनमा छन् । यस क्षेत्रले उत्पादन, सेवा उद्योग, व्यापार, कृषि, शिक्षा तथा स्वास्थ्य र पर्यटन क्षेत्रबाट समग्र मुलुकलाई नै भरथेग गरिरहेको उनले बताए । काठमाडौं(मधेश)तराई फास्ट ट्र्याक निर्माणाधीन छ, केही वर्षमा निर्माण सम्पन्न भए पनि यस क्षेत्रका थप सम्भावनाका ढोका खुल्ने उनको भनाइ छ ।
