सौराहाले चिनाएको पर्यटन

सौराहामा गर्नुपर्ने थुप्रै काम छन्, ‘घुमौं सौराहा अभियान’ लाई नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत प्रवर्द्धन गर्न जरुरी छ

कार्तिक ८, २०८१

सुमन घिमिरे

Tourism introduced by Sauraha

५० वर्षअघिसम्म सौराहाको नाम आसपासमा मात्र सीमित थियो । अहिले उत्तरमा देवौली, दक्षिणमा पदमपुर, पूर्वमा खैरहनी र पश्चिममा भरतपुरसम्म फैलिएको छ । सौरी माछाको नाम अपभ्रंश हुँदै यो ठाउँ सौराहा बन्न गएको किम्वदन्ती पनि छ ।

२०३० सालमा तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । त्यही बेला सौराहामा निकुञ्जको पहिलो टिकट काउन्टर स्थापना गरियो । त्यसपछि पर्यटकको चहलपहल सुरु भयो, सौराहाले प्रसिद्धि कमाउन थाल्यो । 

सुरुका दिन सौराहामा वार्षिक २ सय पर्यटक आउँदा पनि धेरै लाग्थ्यो । अहिले वार्षिक २ लाख हाराहारी पर्यटक आउँदा होटलको वार्षिक ‘अकुपेन्सी’ ६० देखि ७० प्रतिशतमा मात्र सीमित छ । माग र आपूर्ति मिलेको छैन वा सौराहाले आफ्नो बजारीकरण र ‘ब्रान्डिङ’ गर्न सकेको छैन । तैपनि चितवन घुम्न आउने जोसुकैलाई सौराहा नपुगी हुँदैन । कतिलाई त लाग्छ– चितवन भनेको सौराहा हो । 

पूर्व–पश्चिम राजमार्गबाट ६ किलोमिटर दूरीमा रहेको सौराहा निकुञ्जको छेवैमा अवस्थित छ । राप्ती र ढुंग्रे खोलाको संगम यहीं छ । आज जुन सौराहा हामीले देखेका छौं, त्यो सजिलै यत्तिको अवस्थामा पुगेको होइन । ‘रोम एक दिनमा बनेको होइन’ भन्ने भनाइ सौराहासित मेल खान्छ । लामो समयको उत्तरचढावपछि सौराहा व्यवस्थित पर्यटकीय गन्तव्य बनेको हो । ५० वर्षअघि निकुञ्ज प्रवेशका लागि टिकट काउन्टर सञ्चालनमा आउँदा सौराहा नजिकै व्यावसायिक रूपमा ‘गैंडा वाइल्डलाइफ क्याम्प रिसोर्ट’ स्थापना भएको थियो । त्यहाँ आउने पर्यटकलाई निकुञ्ज प्रवेशको टिकट काट्नकै लागि काउन्टरको स्थापना गरिएको थियो । पछि यो काउन्टर रहेको प्रेक्षालयलाई आगन्तुक केन्द्रमा रूपान्तरण गरियो । बाढीले क्षति पुर्‍याएपछि यसलाई पुनःस्थापना गर्ने कुनै पनि पहल गरिएन । 

२०३३ सालताका ‘गैंडा वाइल्डलाइफ’ पछि सौराहामा ‘एलिफेन्ट क्याम्प’ स्थापना भयो । हाल यी दुवै होटल बन्द भइसकेका छन् । त्यसताका सौराहा आउने पर्यटक होटल अभावका कारण स्थानीय घरमा बास बस्थे । उनीहरू दुई/तीन दिन घरमा बिताउँथे । अहिले हामीले भनिरहेको घरबास त्यो बेला वास्तविक रूपमा प्रयोगमा आएको थियो । आफ्नो घरमा सुतेको र पाकेको खाना दिँदा आम्दानी हुन थालेपछि स्थानीय होटल व्यवसाय विस्तार गर्न आकर्षित भए । ‘एलिफेन्ट क्याम्प’ पछि ‘पार्क कटेज’ खुल्यो । २०३६ सालतिर गिरीधारी चौधरीले ‘वेन्डिज लज’ को स्थापना गरे । ४० को दशकसम्म आइपुग्दा १०/१२ वटा होटल स्थापना भइसकेका थिए । अहिले होटलको संख्या बढेर १६० को हाराहारीमा छ । ६० भन्दा बढी रेस्टुरेन्ट छन् । 

चितवनमा सफारी पर्यटनलाई संस्थागत रूपमा सुरुवात गर्ने श्रेय ‘टाइगर टप्स’ का सञ्चालकलाई जान्छ । टाइगर टप्सको स्थापना निकुञ्जको स्थापनाअगावै अर्थात् २०२२ मा भएको थियो । टाइगर टप्सले देखाएको बाटो पछ्याउँदै आज सौराहा गाउँ संसारभर प्रख्यात बनेको छ । चितवन निकुञ्ज घुम्ने कुल पर्यटकको ८० प्रतिशत सौराहाबाटै प्रवेश गर्छन् । सुरुवाती दिनमा सफारी गर्न हात्ती मात्र प्रयोग गरिन्थ्यो ।

सौराहामा रहेको हात्तीसारमा रहेका हात्ती पर्यटक बोकेर निकुञ्ज जान्थे । दुःखको कुरा, निकुञ्जले व्यावसायिक रूपमा निकुञ्जका हात्ती सफारी सञ्चालन छाडिसक्यो र अहिले जति पनि हात्ती सफारी हुन्छन्, ती सबै निजी हात्तीहरूले बाघमारा, चित्रसेन र कुमरोज सामुदायिक वनमा हात्ती सफारी गर्ने गर्छन् । आक्कलझुक्कल प्रकृति संरक्षण कोषको हात्ती पर्यटक बोकेर निकुञ्ज जान्छन् । 

सौराहामा होटलको संख्या वृद्धिसँगै पर्यटकको संख्या पनि बढ्न सुरु भयो । त्यसपछि विस्तारै जंगल–वाक, डुंगा सयर, चरा अवलोकनजस्ता कार्यक्रमले पनि प्रवेश पाए । सौराहामा स्थापनमा भएको नेपालको पहिलो हात्ती प्रजनन केन्द्र सञ्चालनमा आएपछि पनि यहाँ आउने पर्यटकका लागि यो चासोको विषय बन्यो । पचासको दशकसम्म आइपुग्दा थारू नाच र थारू गाउँ अवलोकन कार्यक्रमले राम्रै ध्यान पायो । त्यसबेला थारू सांस्कृतिक नाच आ–आफ्नो होटलमा देखाइन्थ्यो । व्यावसायिक रूपमा यो नाच हलमा देखाउन थालियो ।

हाल सौराहामा तीन वटा थारू नाच घर निर्माण भइसकेका छन् । यहाँका सम्पूर्ण होटलले आफ्नो प्याकेजमा थारू नाचलाई राखेका छन् । यो कार्यले थारू संस्कृतिलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । स्थानीय रोजगारीलाई प्रवर्द्धन गर्न गोरुगाडाबाट गाउँ अवलोकन गर्ने कार्यले अहिले पनि निरन्तरता पाइरहेको छ । सौराहामा पहिला–पहिला विदेशी पर्यटक मात्र देखिन्थे । अहिले सौराहा आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ । प्रकृतिसँग नजिक हुन चाहने जोकोहीलाई पनि सौराहाले आकृष्ट गर्छ । 

गैंडा र बाघ हेर्ने धोको धेरैको हुन्छ । सबैभन्दा लोकप्रिय माध्यम भनेको हात्ती सफारी हो । हात्तीबाट जनावरहरू राम्रो र सुरक्षितसँग देख्न सकिन्छ । अर्को सफारी भनेको जिपमा हो । सौराहाको राप्ती किनारबाट सुरु हुने यो यात्रा निकुञ्जको मुख्यालय कसरासम्म पुग्छ । यो यात्रा लगभग ३६ किमि दूरी करिब साढे ४ घण्टामा पार गर्न सकिन्छ । कसरामा रहेको गोही प्रजनन केन्द्र पनि यो यात्रामा देख्न सकिन्छ । यी दुईबाहेक साहसिक पर्यटकका लागि निकुञ्ज हेर्ने अर्को उपाय भनेको पदयात्राबाट हो । पन्छी अवलोकनका लागि पनि यो निकुञ्ज प्रख्यात छ । सौराहामा अर्को छुटाउन नहुने कुरा डुंगा यात्रा हो । 

सौराहामा धेरै पर्यटकले रुचाएको अनि पछिल्लो आकर्षण भनेको हात्तीसँग नुहाउने हो । सुँडले फ्याँकेको पानीमा ‘सावर’ लिनु र हात्तीलाई नुहाइदिनु जीवनकै अविस्मरणीय क्षणका रूपमा रहन्छन् । साँझतिर राप्ती किनारमा बसेर सूर्यास्त हेर्नुको मज्जा अर्कै हुन्छ । दिउँसो चर्को घामपछि चिसिँदै गएको सन्ध्याकालीन मौसममा छुट्टै आनन्द लिन सकिन्छ ।

बगरबाट चितवन राष्ट्रिय निकुञ्जलाई नजिकबाट पनि हेर्न सकिन्छ । अझ कहिलेकाहीँ त पानी पिउन आएका जनावर पनि देख्न पाइन्छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने चितवन हात्ती महोत्सव सौराहाका व्यवसायीहरूले सौराहाको ‘ब्रान्डिङ’ को अवसरका रूपमा लिने गरेका छन् । यो महोत्सव हरेक वर्ष पुस ११ मा सुरु गरिन्छ । 

पर्यटकलाई दोहोर्‍याएर ल्याउन यहाँ केही नयाँ ‘प्रडक्ट’ दिन आवश्यक छ । ‘घुमौं सौराहा अभियान’ सुरु भएको छ, यसलाई नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत प्रवर्द्धन गर्न जरुरी छ । पाँचतारे र लक्जरी रिसोर्ट निर्माणका लागि व्यवसायीलाई आवश्यक वातावरण सिर्जना गर्न जरुरी छ । कमसेकम नेपाल घुम्न आउने पर्यटकको ५० प्रतिशत संख्यालाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने वातावरण सिर्जना गर्न सके यहाँको रौनकता अर्कै हुने थियो । 

चितवन चिन्तन

सुमन

Link copied successfully