काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश लगानी बोर्ड स्थापना गर्ने तयारीमा रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले त्यसपछि लगानी भित्र्याउन सजिलो हुने बताए ।
‘स्वदेशी तथा विदेशी लगानी प्रदेश भित्र बढाएर उद्योगधन्दा सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रदेश लगानी बोर्ड स्थापना गर्न प्रदेश सरकार लागि परेको छ,’ उनले भने, ‘उद्योगको विकास र विस्तार मार्फत उत्पादन र रोजगारीलाई प्राथमिकता दिने प्रदेश सरकारको योजना र आकंक्षा छ ।’
उद्योग तथा कलकारखानाको स्थापना, विकास र विस्तार बिना उत्पादन र रोजगारीको सम्भावना नदेखिएको भन्दै उद्योग धन्दा स्थापनाकालागि लगानी आकर्षित गर्न जरुरी रहेको उनको भनाइ छ ।
