काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन राज्यको नीति र प्रतिबद्धता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर चितवन चिन्तन’ कार्यक्रममा उद्योगी श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।
‘एफडीआईको कुरा गर्दा जहाँ सहज छ त्यहाँ एफडीआई जान्छ । यो कुरामा राज्यले विचार गर्नुपर्छ,’ उनले भने, ‘किनभने लगानीकर्ताले एफडीआईमा नीति हेर्ने हो । जुन मुलुकमा सजिलो छ त्यो मुलुकमा लगानी गर्न चाहन्छ ।’
नेपालको नीतिहरू स्पष्ट नरहेको र नेतृत्व परिवर्तन भइरहने कारणले नेपालमा लगानी भित्र्याउन सजिलो नभएको उनले बताए । यसका लागि सरकारले पछिल्लो समय लगानी भित्र्याउन प्रयास गरे पनि नतिजा शून्य रहेको उनको भनाई छ ।
‘हाम्रा प्रतिबद्धताहरू स्पष्ट छैनन् । लगानी सम्मेलन हुने बेला हामीले सरकारका सचिवहरूसँग घनिभूत भएर कुन–कुन ऐन संशोधन गर्ने भनेर छलफल गर्यौं,’ उनी भन्छन्, ‘हामीले सिफारिस गर्यौं त्यसमा दुई/चार कुराहरू काटिए । भन्ने बेला नीजि क्षेत्रसँग एउटा प्रतिबद्धता गर्छ । भएको समझदारी बिगार्न जाँदा के हुन जान्छ ? त्यसले लगानी ल्याउन राज्यको प्रतिबद्धता स्पष्ट हुनुपर्छ ।’
