किसानको तहबाट नेतृत्व गर्न सकेनौं : त्रिपाठी

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

We could not lead from the farmers' level: Tripathi

काठमाडौँ — कृषि तथा वन विश्वविद्यालयमा अध्ययनसँगै अनुसन्धान भएपनि किसानसँगको समन्वयमा चिन्तित रहेको  विश्वविद्यालय अन्तर्गत सेवा आयोगकी अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’मा त्रिपाठीले किसानको तहबाट नेतृत्व गर्न नसकेको बताइन् ।

‘कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकता थियो । कृषिले नेतृत्व गरेको विश्वविद्यालयमा किसानकै मुद्दा अनुसन्धान होस भन्ने उद्देश्य हो । विश्वविद्यालय आएपछि पठाउने मात्रै होइन, अध्ययन रिसर्च पनि हुन्छ । हरेक वर्ष एमएसी, पिएचडीको रिसर्च हुन्छ । यसका लागि थुप्रै दाताको प्रोजेक्ट चलेको छ,’ उनले भनिन् ।

रिसर्चको क्रममा किसानसँग समन्वय नहुने गरेको उनले सुनाइन् । 'रिसर्चको क्रममा किसानसँग कत्तिको समन्वय हुन्छ, त्यसमा हामी चिन्तित छौं । किसानको समस्या, किसानको तहबाट नेतृत्व गर्न सकेका छैनौं,’ उनले भनिन् ।

सांस्कृतिक रुपमा रहेको कृषिलाई व्यापारिक रुपमा लैजाने प्रयास जारी भएको उनले बताइन् । ‘हामीले खोजेको जस्तो नभएपनि परिवर्तन भएको छ । किसान मेला हुन्छ, केही किसान जोडिनु भएको छ,’ उनले भनिन्, ‘तर चाहेजति भएको छैन । केही ग्याप बाँकी नै छ ।’

कृषि र वन विश्वविद्यालयले नेपाललाई मात्रै नभई विश्वलाई चिनाएको उनको भनाइ छ । कृषि विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीमध्ये ५० प्रतिशत विदेश गएको समेत उनले बताइन । ‘५० प्रतिशत  विद्यार्थी बाहिर गएका छन, अन्यदेशको भन्दा रामपुर कृषी क्याम्पसको विद्यार्थी प्रदर्शन राम्रो छ,’ उनले भनिन, ‘ब्रेन ड्रेन भएको ब्रेन गर्न गर्न सकेका छैनौ । विदेशमा गएको विद्यार्थीलाई ल्याउन सकेका छैनौं ।'

कान्तिपुर

Link copied successfully