काठमाडौँ — चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने हस्पिटल मात्रै भएर मेडिकल सिटी नहुने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बिहीबार चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को तेस्रो सत्र ‘शिक्षा र स्वास्थ्यमा लगानी : चितवनको चिनारी’ मा न्यौपानेले सरकारले मेडिकल सिटीलाई मान्यता दिनुपर्ने बताएका हुन् ।
‘तपाईं, हामीले मेडिकल सिटी भनेर हुँदैन, सरकारको कुनै न कुनै निकायले मेडिकल सिटी भनेर घोषणा गर्नुर्पछ,’ उनले भने, ‘चितवन मेडिकल सिटीमा छौं भनेर जनताले पनि दह्रो हृदयले भन्न सक्नुपर्छ ।’ पूर्वाधार तथा सुविधाहरू हेरेर मेडिकल सिटीका लागि पर्याप्त छ भनेर भन्न सक्नु पर्ने उनले सुनाए । हस्पिटल मात्रै भएर मेडिकल सिटी नहुने भन्दै न्यौपाने र मेडिकल सिटीका लागि आवश्यक विषयहरू पहिचान गर्नुपर्ने उनको भनाइ छ ।
‘हस्पिटल मात्रै भएर मेडिकल सिटी हुँदैन, आजको दिनमा चितवनमा ४ हजार वटा बेडहरू छन्, ५ सय वटा क्रिटिकल केयर बेड छन्,’ उनले भने, ‘कोभिडको समयमा चितवन साँचै मेडिकल सिटी होकी होइन भनेर देखिसक्यौं । हामीले मेडिकल सिटीका रुपमा प्रमाणित गरिसक्यौं ।’
कोभिडका समयमा समेत ५ सय वटा क्रिटिकेल केयर बेड हुँदा पनि कति बिरामीले क्रिटिकल सर्भिस पाइएन भनेर गुनासो गरेको उनले सुनाए । काठमाडौंमा क्रिटिकल केयर बेड नभएर चितवनमा आएर उपचार गरेर समेत फर्किएका उनको भनाइ छ । ‘सर्वसाधारणले बुझ्ने मेडिकल सिटी प्रमाणित गरिसकेका छौं,’ उनले भने, ‘आजको दिनमा मेडिकल सिटी भनेर प्रमाणित गर्नुपर्ने नीति निर्माणकर्ताले हो ।’
सरकारले चितवनलाई मेडिकल सिटी भनेर मान्यता दिनुपर्ने बताए । ‘कुनै न कुनै ऐन, कानुन, नीति नियम तथा कार्यविधिमा लेख्नुपर्यो,’ उनले भने, ‘यदि चितवनलाई मेडिकल सिटी बनाउने हो भने लमजुङ, तनहुँलगायत जनसुकै ठाउँबाट बिरामी आउँदा अन्यभन्दा सर्वसुलभ सेवा हुनुपर्यो । सर्वसुलभ बनाउन यातायातको सुविधा, होटलमा बस्ने, डाइगोनोसिसलगायतको सुविधाबारे ध्यान दिनुपर्यो ।’
