कृषिको ३६ अर्ब अनुदान कसले लग्यो, खोज्दैछु : कृषिमन्त्री

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

I am looking for who took the 36 billion subsidy for agriculture: Minister of Agriculture

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले २०७१ सालयता वितरण भएको ३६ अर्ब अनुदानको खोजी कार्य सुरु गरेको बताएका छन् ।

किसानका नाममा वितरण भएको अनुदान लक्षित वर्गले नपाएको गुनासोपछि मन्त्री अधिकारीले अनुदान क-कसले लगेको हो भनेर खोजी गरिरहेको बताए ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन : चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘किसानका नाममा धेरै अनुदान गएको छ । २०७१ सालयता मात्रै ३६ अर्ब वितरण भएको छ, त्यो  अनुदान कहाँ गयो भनेर खोज्दैछु, कुन ढङ्गबाट कहाँ गयो, त्यसको खोजी भइरहेको हो ।’ 

कृषि  अनुदान लगेका व्यक्ति, संघसंस्थाको नामवली केही दिनमै सार्वजनिक गरिने पनि उनले बताए । ‘कृषि कर्म गर्ने मान्छेलाई कृषि मन्त्रालयले राम्रोसँग सम्बोधन गर्नेछ । सार्वजनिक रुपमा उठेको कमजोरी सुधार गर्ने काम गर्छु, सम्भव भएसम्मको काम गर्छु, गर्न नसकेको काममा गुहार माग्छु,’ उनले भने, ‘समस्या सम्बोधन गर्न नसके मन्त्रीले नै गरेको किन नहोस्, त्यो बदमासी हो ।’ 

कृषिमा लागेका साना किसानले धेरै समस्या भोगिरहेको बताउँदै उनले सरकारले सहयोग गर्नुपर्ने बताए । जग्गा भए पनि साना किसानलाई बैंक र सहकारीले ऋण दिन नपत्याएको उनले बताए । ‘किसानले बैंक र सहकारीसँग ५० हजार रुपैयाँ माग्दा पैसा दिएनन् । आफूसँग २ वटा बच्चा रहेको, श्रीमान् रक्सी खाएर हिंडेको छ । गोलभेंडा लगाउन प्लास्टिकको टहरा लगाई गोलभेंडा बिक्री गरेर बच्चा पढाउन पाउँ भनेर भन्दा कसैले पनि सहयोग गरेनन् भन्ने किसानको गुनासो छ,’ मन्त्री अधिकारीले भने, ‘किसानको यो पीडालाई भुल्न मिल्दैन । गरिबी कहाँनिर छ, समृद्धि कहाँ छ ?’

कान्तिपुर

Link copied successfully