कीर्तिपुरमा निर्माण हुने एमाले मुख्यालयको ओलीले गरे शिलान्यास

एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन्

आश्विन २५, २०८१

कान्तिपुर संवाददाता

Oli laid the foundation stone of the UML headquarters to be built in Kirtipur

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय कीर्तिपरमा शिलान्यास गरेका छन् । एमालेले कीर्तिपुर नगरपालिका- २  मैत्रीनगरमा केन्द्रीय कार्यालय निर्माण गर्न लागेको हो ।

एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार वैदिक विधिअनुसार पार्टी केन्द्रीय कार्यालय शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति रहेको छ । 

एमालेले पार्टी सदस्यहरूको सदस्यता शूल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने बताएको छ । जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले उपलब्ध गराएका हुन् । उक्त जग्गा १० रोपनी १४ आना रहेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका–१४  मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ । 

एमाले पार्टी कार्यालय एक वर्षभित्र निर्माण भइसक्ने बताइएको छ । 

कान्तिपुर

Link copied successfully