बाढीले बगाएको खानेपानी मुहान बनाउन श्रमदान

लेलेको वासुकी क्षेत्रमा रहेको खानेपानी मुहान मर्मत र पाइप जडान गर्न टीकाभैरव र सिर्खपाका करिब  ३ सय घरधुरी श्रमदानमा

आश्विन २०, २०८१

प्रशान्त माली

Shramdan to build a water spring that was swept away by the flood

काठमाडौँ — ललितपुर टीकाभैरवकी ५३ वर्षीया गोमा घिमिरे बाढीले क्षति पुर्‍याएको खानेपानीको मुहान मर्मत गर्न गत मंगलबारदेखि श्रमदानमा व्यस्त छिन् । एक साताअघिको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–६ स्थित लेलेको भाङखुरिया वनको वासुकी क्षेत्रमा खानेपानी मुहानमा क्षति पुर्‍याउनुका साथै पाइप बगाएको थियो । खानेपानीको समस्या भएपछि स्थानीय आफैं मुहान मर्मतमा जुटेका हुन् । 

टीकाभैरव र सिर्खपाका करिब ३ सय घरधुरी मुहान मर्मत र पाइप जडान गर्न गत सोमबारदेखि खटिएका छन् । दैनिक ७० जनाको हाराहारीमा जुट्ने गरेका छन् । शनिबार कान्तिपुर संवाददाता भाङखुरिया वनमा पुग्दा कोही पहिरो पन्छाउन व्यस्त देखिन्थे भने कोही कुटोकोदाली लिएर खन्दै थिए । कोही पाइप बिछ्याउँदै थिए, केही भने पाइप जोड्न आगो बाल्दै थिए ।

टीकाभैरवकै ५० वर्षीया रमिला थापा पनि मुहान मर्मत गर्न दैनिक करिब दुई घण्टा हिँडेर भाङखुरिया वनमा पुग्ने गरेकी छन् । सिर्खपाका वसन्त नगरकोटी ५ दिनदेखि त्यहीँ खटिएका छन् । ‘सरकारको आशमा बसे पानी पिउन पाउने कहिले हो कहिले ? सबै जना जुटे केही दिनमै पानी गाउँमा पुर्‍याउन सकिन्छ,’ नगरकोटी भन्छन् ।

Shramdan to build a water spring that was swept away by the floodवासुकी, सिर्खपा र टीकाभैरव खानेपानी उपभोक्ता समितिका अनुसार भाङखुरिया वनमा आएको बाढीले मुहान ध्वस्त बनाउनुका साथै करिब ३ सय मिटर लामो ४ इन्चको पाइप बगाएको छ । समितिका अध्यक्ष सुमन नगरकोटीले बजेट अभावका कारण तत्कालका लागि ४ इन्चको सट्टा २ इन्च पाइप जडान गर्न लागेको बताए । ‘मुहानमा ढलान गर्न नसकेर चारैतिर प्लास्टिक राखेर अस्थायी रूपमा संरचना बनाएका छौं,’ उनले भने, ‘पानी खोल्ने र बन्द गर्ने गेट भल्भ एउटाको मूल्य मात्र ५० हजार पर्छ ।’ 

पर्खाल निर्माण, पाइपलाई खोला क्रसिङ, मुहान ढलानलगायत काम गर्न कम्तीमा २० लाख रुपैयाँ खर्च हुने उनले बताए । बजेट अभावले श्रमदान गर्नेहरूलाई समेत राम्रो खाजाको प्रबन्ध गर्न नसकिएको नगरकोटीको भनाइ छ । ‘दालमोठ चिउराको भरमा खटिरहेका छौं,’ उनले भने । खानेपानी उपभोक्ता समितिका अनुसार बाढीले क्षति पुर्‍याउनुअघि मुहानबाट प्रतिसेकेन्ड ८ लिटर पानी वितरण हुँदै आइरहेको थियो ।

Shramdan to build a water spring that was swept away by the floodबाढीले लेले नल्लु खोला र लेलेकै वासुकी क्षेत्रमा रहेको मुहान बगाएपछि चापागाउँ, थेच्व, झरुवाराशि र ललितपुर महानगरपालिकाका केही वडामा खानेपानी आपूर्ति ठप्प छ । वासुकीको मुहानबाट दैनिक २० लाख लिटर पानी आपूर्ति हुँदै आएको थियो । नल्लु खोलाको पानीलाई रिजर्भ ट्यांकीमा जम्मा गरेर वितरण गरिएको थियो । बाढीले पाइप बगाएपछि दैनिक १६ लाख लिटर पानी आपूर्ति रोकिएको छ । नल्लु खोलाको पानी आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चापागाउँको मूलडोल र चारघरेस्थित डिप बोरिङको पानी मात्र वितरण गरिरहेको छ । 

Shramdan to build a water spring that was swept away by the floodगोदावरी–१२ थेच्वका भाइगोपाल महर्जनले खानेपानी व्यवस्थापन गर्न केयूकेएललगायत सम्बन्धित निकायले तत्काल पहल थालेमा स्थानीय श्रमदान गर्न तयार रहेको बताए । ‘मूलमा प्रशस्त पानी छ । तर, विपद्को बेला केयूकेएलले बजेट अभाव देखाउँदै पन्छिन मिल्दैन,’ उनले भने, ‘आपत्विपद्का बेला प्रयोग गर्न प्रत्येक वडाले एक/दुई लाख लिटर क्षमताको ट्यांकी बनाउन जरुरी छ ।’

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले केयूकेएलले चासो दिएमा पाइप बिछ्याउन र मुहान बनाउन पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘पालिकाबाट तत्काल बजेट छुट्याउन सक्ने अवस्था छैन,’ उनले भने, ‘विशेष परिषद् बसेर बजेट परिमार्जन गरी खानेपानी र सडक पूर्वाधारमा विनियोजन गर्ने योजना छ,’ उनले भने ।

Shramdan to build a water spring that was swept away by the floodकेयूकेएल ललितपुर शाखा प्रमुख अला भट्टले भने लेले–नल्लु क्षेत्रमा खानेपानीको ट्यांकीसँगै पाइपहरू बगाएकाले तत्काल पानी सुचारु गर्न सम्भव नदेखिएको बताइन् । ‘चाँडै पानी वितरण गर्न केन्द्रीय कार्यालयमा क्षतिबारे जानकारी गराइसकेका छौं,’ उनले भनिन्, ‘दसैंअघि भने लेले नल्लु क्षेत्रको पानी वितरण सम्भव छैन ।’

बाढी पहिरो

प्रशान्त

Link copied successfully