काभ्रे — गत साताको भारी वर्षा र बाढीपहिरोबाट बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बेथानचोकमा अहिले पनि सडक, बिजुली, सञ्चार लगायतका सेवा अवरुद्ध छन् ।
गाउँपालिकाले पहिलोचरणको उद्धार र राहतपछि अब सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
विपद्मा फसेकाहरूको उद्धारपछि अब सडकलाई पहिलो प्राथमिकतामा राखेर मर्मतसम्भारको काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । ‘सडक सञ्जाल सबै टुटेका छन्,’ उनले भने, ‘एम्बुलेन्स पनि जाने बाटो छैन, बिरामी ल्याउन सकिएको अवस्था छैन, यही कुरालाई मध्यनजर गर्दै पालिकाले अहिले गाउँपालिका जोड्ने विभिन्न सडक खण्डमा डोजर तथा उपकरणहरु परिचालन गरेर नयाँ ट्रयाक खोलेर बाटो बनाइरहेको छ ।'
उनका अनुसार, अहिले विभिन्न स्थानमा करिब २० वटा डोजरहरु चलाइएको छ । चाँडोभन्दा चाँडो सडक सञ्जाल जोड्न गाउँपालिकाले तिब्र रुपमा काम गरिरहेको उनले बताए ।
उनका अनुसार बिजुली, सञ्चार सेवा सञ्चालनको लागि पनि पालिकाले काम गरिरहेको छ । विद्युत प्राधिकरण, सञ्चारसँगको समन्वयमा नयाँ पोलहरु जडानको काम भइरहेको छ । बेथानचोक गाउँपालिकाभित्र विभिन्न स्थानमा रहेका भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।
पालिकाको आफ्नो भवन र विभिन्न स्थानमा रहेका क्रसर तथा खानी उद्योगमा पनि क्षति भएको छ । अहिले बेथानचोक गाउँपालिका वडा नं ४ स्थित सलान्दु खोलाका किनारमा करिब ५० वटा टिपर बगेर क्षत् विक्षत् अवस्थामा छन् । विपद्जन्य घटनामा बेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
बेथानचोक गाउँपालिकाको वडा नं ४ मा मात्रै ८ जनाको मृत्यु भएको छ । पालिकाको ६ वटा वडामध्ये वडा नं ४ धेरै प्रभावित भएको पालिका अध्यक्ष अधिकारीले बताए ।
त्यस्तै, वडा नं ४ मा मात्रै बाढी र पहिरोबाट २५० घरधुरी प्रभावित भएका छन् । बाढी र पहिरोबाट पालिकाभर करिब ६ सय घर परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
