सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न गएका बेला सहकारीपीडितले प्रदर्शन गरेका हुन्, रविविरुद्ध प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किए

आश्विन १९, २०८१

रमेशकुमार पौडेल

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीपीडितले शुक्रबार दिउँसो उनकै निर्वाचन क्षेत्र मुग्लिन बजारमा प्रदर्शन गरेका छन् ।

उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो । लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न गएका बेला ब्यानरसहित प्रदर्शन गरिएको हो ।

मुग्लिन बजारमा उनले तेस्रो सार्वजनिक सुनुवाइ गरेका हुन् । कार्यक्रम सकेर फर्कने क्रममा लामिछानेविरुद्ध प्रदर्शन भएको प्रत्यक्षदर्शी स्थानीय सुशान्त केसीले बताए । उनका अनुसार रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निराला भण्डारीले सुनुवाइ कार्यक्रमपछि वैकल्पिक बाटोबाट लामिछानेलाई भरतपुर पठाएको उनले बताइन् । चितवन भरतपुर महानगरपालिका–३ मा मुख्य कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैधानिक रूपमा गोरखा मिडियामा करोडौं रुपैयाँ गएको पुष्टि भएको छ । गोर्खा मिडियामा लामिछाने राजनीतिमा आउनुअघि साझेदार रहेका थिए ।

सहारा चितवनका पीडित बचतकर्ताहरूले संघर्ष समिति नै गठन गरेर डेढ वर्षदेखि आन्दोलन गर्दै आएका छन् । तर मुग्लिनको प्रदर्शनमा संघर्ष समिति सामेल नभएको संयोजक शालिकराम दुवाडीले बताए । ‘हामी त्यहाँ गएका हैनौं । हामीले आज प्रदर्शन गर्ने निर्णय या कुनै तयारी गरेका थिएनौं । अन्य पीडितहरूले प्रदर्शन गरेका होलान्,’ दुवाडीले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully