४० स्थानमा अझै सडक खुल्न सकेन
काठमाडौँ — देशभर बाढी पहिरोले अवरुद्ध बनेको ३ सय ४५ स्थानमा दुईतर्फी सडक सुचारु भएको छ । त्यस्तै ४ सय ८ स्थानमा भने एकतर्फी मात्र सडक सुचारु रहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार नागढुंगा–मुग्लिन सडक अन्तर्गत मौवा खोला, हुक्दीखोला, फिस्लिङ, कालीखोला, सिमलताल, जलबीरे, घोप्टेभिर खण्डमा दुईतर्फी नै सडक खुलेको छ ।
नागढुंगा–मुग्लिन सडक अन्तर्गत झ्याप्लेखोला र जवाङ खोला खण्डमा एकतर्फी मात्र सडक सुचारु छ । यता मध्यपहाडीको सिन्धुली–उदयपुर–ओखलढुंगा र खोटाङको दर्जन बढी स्थानमा पहिरो खसेको छ ।
विभागका अनुसार उक्त राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुले, अक्करे भिर, पन्चकन्या, कालीमाटी–सनमबेसी, सोखुखोला र कल्लेरी दोभान खण्डमा दुईतर्फी रुपमै सडक सञ्चालनमा आएको छ । यही राजमार्गको कुखेरेटारमा भने सडक एकतर्फी सञ्चालनमा छ । विपी राजमार्ग अन्तर्गत काभ्रेको कालढुंगा खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । यही राजमार्गको चारसय भन्ने खण्ड एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ ।
मंगलटार खण्ड नजिकै करिब २ सय मिटर सडक रोशी खोलाले बगाएकाले यो खण्ड सञ्चालनमा आउन सकेको छैन । कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबासमा एकतर्फी सडक चालु छ । सामाखुशी–टोखा–गुर्जे–विदुर सडक दुबैतर्फ सञ्चालनमा रहेको सडक विभागले जनाएको छ ।
हेटौडा–भैंसे–पालुङ–नौविसे–काठमाडौ सडकको भैंसे खण्ड पनि दुईतर्फी रुपमै सञ्चालनमा आएको छ । काठमाडौं–नुवाकोट जोड्ने बालाजु–त्रिशुली सडक खण्डको ओखरपौवा खण्ड एकतर्फी मात्र सञ्चालनमा छ । कान्ती राजपथको महादेवटार खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी, दकलाङ एकतर्फी सञ्चालनमा छ ।
