काठमाडौँ — विपद् व्यवस्थापनमा कमजोरी भएको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीको हेरफेरपछि प्रहरी प्रमुख पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङको कमान्ड एसपी दिपेन्द्र शाहीलाई दिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
यसअघि धादिङका कार्यरत एसपी गौतम केसीलाई हेडक्वार्टर तानिएको छ । यसअघि गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको थियो । गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ । दुवै प्रजिअ र जिल्लाका सुरक्षा निकायका प्रमुखमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन ।
अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ ।
