सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परी अझै ७ जना बेपत्ता रहेका छन् ।
तेगागाउँमा पहिरोले ३ वटा घर पुरिएका छन् । जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार माथिल्लो तेगाबाट भूभाग भास्सिएर आएको पहिरोले ध्वस्त तुल्याएको गाँउका स्थानीयको उद्धार प्रयास भइरहेको छ ।
त्यँहा भएको अवस्थाबारे बुझ्न तेगा गएका तेम्बाथानका केही स्थानीय बीच बाटैबाट फर्किएको गअध्यक्ष स्याङ्बोले जानकारी दिए । 'गाँउपालिकाबाट नेपाली सेना र अन्य हेलिकप्टर लैजाने प्रयासमा छौँ, तत्काल उद्धारका लागि सुरक्षाकर्मी र अन्यलाई खबर भइरहेको छ, त्यँहा नेटवर्क र बिजुली दुवै नभएकाले सम्पर्क गर्न सकिएको छैन् ,' स्याङ्बोले भने ।
उनका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा , लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पुर्ण रुपमा क्षति भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा,ढेन्डु शेर्पा,साडलो शेर्पा ,ढोमा शेर्पा गरी ७ जना सम्पर्कमा छैनन् । जुगल गाँउपालिका-३ का अगुवा साइला शेर्पाले त्यँहा हिडेर जान गाह्रो र जोखिमपूर्ण भएकाले त्यँहाको यर्थाथ विवरण नआइसकेको बताए ।
