बीच बाटोमै रोकिएका बिरामीहरुलाई नेपाली सेनाद्वारा र्याफ्टिङ बोटमार्फत उद्धार
काभ्रे — बिहीबार रातिदेखि निरन्तर परेको पानीले काभ्रेको बनेपाको पुलबजार क्षेत्र डुवानमा परेको छ । पुलमा पानी सतह उच्च भएसँगै बनेपाको पुलबजार क्षेत्र डुवानमा परेको हो ।
पुलबजार क्षेत्र डुवानभएसँगै शनिबार बिहानदेखि अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।
उनका अनुसार, निरन्तर पानी परिरहेकाले बाटो खुलाउन समस्या भएको छ । प्रहरी, स्थानीय निकाय र सडक विभाग बाटो खुलाउनको लागि प्रयासरत रहेको उनले जानकारी दिए ।
पुलबजार क्षेत्र डुबानमा परेसँगै राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएकाले सयौं यात्रुहरु बीचबाटोमै रोकिएका छन् । राजमार्ग हुँदै उपचारका लागि हिंडेका, तर सडक डुबानमा परी बीच बाटोमै रोकिएका बिरामीहरुलाई नेपाली सेनाले र्याफ्टिङ बोटमार्फत उद्धार गरेको जिल्ला स्थित कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाश बहादुर सिंले जानकारी दिए ।
उनका अनुसार, नेपाली सेनाले डुबानमा परेको बनेपाको पुलबजार क्षेत्रमा उपचारका लागि हिंडेका बिरामीहरुलाई उद्धार गरी अस्पतालसम्म पुर्याउनको लागि सहजीकरण गरेको हो ।
त्यस्तै, जिल्लाको श्रीखण्डपुर, धनेश्वर पुल, पनौती त्रीवेणीघाट लगायतका क्षेत्र डुबानमा परेको उनले जानकारी दिए ।
