न्युयोर्क — परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान ‘टु स्टेट सोलुसन’ बाट हुनु पर्ने बताएकी छन् ।
न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाका दौरान भएको असंलग्न अभियान (नाम) को मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले भनिन्,‘इजरायल–प्यालेस्टाइन समस्याको समाधान टु स्टेट सोलुसन (दुई राज्य निर्माण गरेर) बाट हुनु पर्छ ।’
राष्ट्र संघले सन् १९४७ मै ती दुई मुलुक बीचको समस्याको समाधान टु स्टेट सोलुसनबाटै हुनु पर्ने प्रस्ताव अघि बढाएको थियो । तर हालसम्म पनि उक्त प्रस्ताव अघि बढाएर कार्यान्वयनमा जान सकेको छैन ।
नेपालले पनि लामो समयदेखि इजरायल र प्यालेस्टाइन दुई मुलुक भएर शान्तिपूर्ण रूपमा बस्नु पर्ने कुरा उठाउँदै आइरहेको छ । नामको उक्त मन्त्रीस्तरीय बैठकमा मन्त्री राणाले इजरायल र प्यालेस्टाइनबीचमा तुरुन्त युद्धविराम हुनु पर्ने बताइन् ।
साथै, उनले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीसहित अन्य बन्दीलाई छाड्नु पर्ने बताइन् । उनले त्यसका लागि सम्पूर्ण विश्वको ऐक्यबद्धता हुनुपर्ने बताएकी हुन् । राणाले विश्वका चुनौतीहरूलाई सम्बोधन गर्दै बहुपक्षता, ऐक्यबद्धता तथा संयुक्त काममा जोड दिएकी हुन् ।
