हिमालयले जलवायु सन्तुलनलाई कायम राखेको छ : प्रधानमन्त्री ओली

आश्विन ८, २०८१

जगदीश्वर पाण्डे

The Himalayas have maintained the climate balance: Prime Minister Oli

न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रले जलवायु सन्तुलनलाई कायम राखेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिएपछि भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले हिमालय नेपालका लागि मात्र नभएर संसारकै लागि महत्त्वपूर्ण भएको प्रस्ट पारेका हुन् । 

‘यदि हिमालयसँग हिउ छ र विस्तारै पग्लिन्छ भने ठीक हुन्छ । समुन्द्र र हिमालयको पारिस्थितिक प्रणाली हुन्छ । समुन्द्रमा फोहोर भयो भने त्यो फोहोर बाफ बनेर बादल बन्छ र हिमालयमा पर्छ र हिउँलाई असर गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले जलवायु परिवर्तनमा नेपाल सचेत रहेको र विश्व पनि सचेत हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनको असरबाट हामीले पृथ्वी र जनतालाई बचाउनुपर्ने पनि बताए । ओलीले हिमालयले जलवायु सन्तुलनलाई कायम राखेको उल्लेख गरे ।

‘नेपालमा ४६ प्रतिशत वन क्षेत्र छ । १७ प्रतिशत हिमालय क्षेत्र छ । यस्तै, नदी र कुवा–तलाउ छन् । समग्रमा ७० प्रतिशतभन्दा बढी क्षेत्र जलवायु क्षेत्रलाई योगदान गर्छ,’ उनले भने,‘हामीले पृथ्वी र जनतालाई बनाउनुपर्छ ।’

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully