न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको प्रस्ट पारेका हुन् ।
‘नेपालकै गौतम बुद्ध शान्तिका प्रतीक हुन् । नेपालको विदेश नीतिको आधारभूत नीति नै ‘सबैको मित्रता, कसैसँग पनि छैन शत्रुता’ हो,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल असंलग्न मुलुक हो ।’
प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए । त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीहरूले सोधेको प्रश्नको उत्तर दिएका थिए । ओलीले नेपाल हतियार निशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताए ।
उनले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वबारेको प्रश्नमाथि बोल्दै नेपाल कसैको पनि पक्षमा नरहेको प्रस्ट पारे । उनले सुरुआतमा इजरायलमा हमासले आक्रमण गर्नु गलत भएको भन्दै त्यसपछि इजरायलले विद्यालय र अस्पतालमा गरेको कारबाहीको पनि विरोध गरे ।
