राष्ट्रसंघको सैनिक सल्लाहकारमा नेपालको उम्मेदवारी

नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाइएको छ ।

आश्विन ६, २०८१

जगदीश्वर पाण्डे

Nepal's candidacy for UN military advisor

न्युयोर्क, अमेरिका — नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा नेपालले उम्मेदवारी दिएको छ ।

परराष्ट्र स्रोतका अनुसार नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाएको हो । नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो ।

सेनाका अनुसार नेपाललाई आवेदनका लागि राष्ट्रसंघले आग्रह गरेको सैनिक सल्लाहकार पद अवसरका हिसाबले अहिलेसम्मकै ठूलो हो ।

सरकारले उपरथी अधिकारीलाई राष्ट्रसंघमा रथीको हैसियतमा उम्मेदवार बनाएर पठाएको हो । सैनिक स्रोतकाअनुसार उनी पदमा प्रतिस्पर्धा गर्दा र सल्लाहकारमा चयन भएमा रथीकै हैसियतमा काम गर्ने छन् । तर चयन नभएमा भने उनी नेपालमा उपरथी पदकै हैसियतमा रहने छन् ।

यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रसंघको आग्रहका बाबजुत नेपाली सेनाले कुनै पनि उम्मेदवार पठाएन । जसले गर्दा नेपाली सेनामा असन्तुष्टि बढेको थियो । तर नयाँ प्रधानसेनापति अशोकराज सिग्देल आए लगतै उक्त पदमा उम्मेदवार पठाएका हुन् । ‘पूर्वप्रधानसेनापतिले नेपाललाई आएको मौकामा उम्मेदवार नै छैन भनेर राष्ट्र संघलाई पत्राचार गरेपछि सेनाभित्रै असन्तुष्टि छाएको थियो । तर नयाँ प्रधानसेनापति सिग्देलले पदभार सम्हालेपछि नेपालको तर्फबाट उम्मेदवार पठाउनु भएको हो,’ एक उच्च सैनिक अधिकारीले भने,‘राष्ट्र संघले थप समय बढाएर नेपालले उम्मेदवार पठाउन पाएको हो । ’  

राष्ट्रसंघमा उपमहासचिवका सुरक्षा सल्लाहकार हुन्छन् । ‘मिलिटरी एडभाइजर’ लाई ‘मिलार्ड’ पनि भनिन्छ । सैनिक मामिला कार्यालयको नेतृत्व सैनिक सल्लाहकारले गर्छन् । उपमहासचिवप्रति उत्तरदायी भएर काम गर्नुपर्छ र शान्ति स्थापना कार्यका लागि उपमहासचिवलाई सैनिक सल्लाह प्रदान गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।

सैनिक सल्लाहकारमार्फत राजनीतिक मामिला र स्थलगत समर्थनका लागि उपमहासचिव, महासचिव र सुरक्षा परिषद्लाई सम्बन्धित विषयमा अनुरोध गरिन्छ ।  सैनिक सल्लाहकारले शान्ति सेना परिचालन विभाग, ‘फिल्ड सपोर्ट’ विभाग र शान्ति सेना परिचालन विभागको नेतृत्वमा सैनिक ‘कम्पोनेन्ट’ हरूसँगको सञ्चालन गर्नुपर्छ । राजनीतिक विभागको नेतृत्वमा सैन्य सल्लाहका काम हुने मिसन कार्यालय र डिभिजनका प्रमुखलाई सल्लाह पनि दिनुपर्ने हुन्छ ।

नेपालबाट यसअघि सहायक सैनिक सल्लाहकारका रुपमा तत्कालीन उपरथी चित्रबहादुर गुरुङले सन् २००० को नोभेम्बरदेखि सन् २००२ को डिसेम्बरसम्म राष्ट्र संघका मुख्यालयमा काम गरेका थिए ।

सैनिक सहायक बाहेक नेपालले यूएन मिसनमा गएर हालसम्म प्राप्त गरेको महत्वपूर्ण पदहरुमा सात फोर्स कमान्डरको जिम्मेवारी भूमिका निर्वाह गरिसकेको छ ।

नेपालबाट उपरथी कृष्णनरसिंह थापा, उपरथी भिक्ट्रीशम्सेर राणा, उपरथी पवनजंग थापा, उपरथी बालानन्द शर्मा, उपरथी पूर्णचन्द्र थापा, उपरथी इश्वर हमाल र रथी निर्मलकुमार थापा फोर्स कमान्डर भएका हुन् । गोलान हाइटमा अब थापा फर्कने भएपछि नयाँ उम्मेदवारका रुपमा नेपाली सेनाले सागरबहादुर थापालाई पठाएको छ ।

अहिले नेपालबाट विभिन्न मिसनहरुमा ४० विज्ञहरु, सशस्त्र प्रहरी बलबाट १८०, व्यक्तिगत रुपमा ३३, कर्मचारीका रुपमा ११३ र शान्ति सैनिकका रुपमा ५ हजार ७५३ सहित ६ हजार ११९ जना रहेका छन् । जसको तुलनामा दोस्रो स्थानमा रहेको रुवान्डाको कुल संख्या ५ हजार ८७६ छ भने तेस्रो स्थानमा रहेको बंगलादेशको कुल संख्या ५ हजार ८६६ रहेको छ ।

यूएनले सन् १९४८ देखि शान्ति सैनिक खटाउने गरे पनि नेपालले सन् १९५८ बाट मात्रै उक्त जिम्मेवारी बहन गर्न थालेको हो । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएपछि विश्व शान्तिमा भाग लिन थालेको हो । नेपालबाट पहिलोपटक सन् १९५८ मा युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनान (युनिफिल) मा नेपाली सैनिक पर्यवेक्षकका रूपमा खटिएका थिए । नेपालले कन्टिन्जेन्टका रूपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौजलाई युनिफिलमै खटाएको हो ।

नेपालले विगत ६६ वर्षे आफ्नो शान्ति मिसनमा ४४ ओटा मिसनहरुमा काम गरिसकेको छ । नेपाली सरक्षाकर्मीहरुसँग दुई दर्जनभन्दा बढी मुलुकमा काम गरेको अनुभव छ । नेपालले द्वन्द्वग्रस्त युरोप, अफ्रिकी, पश्चिम एसिया, सामुद्रिक मुलुकहरुदेखि एसियाका विभिन्न समस्याग्रत मुलुकमा शान्ति सैनिकको रुपमा काम गरिसकेको छ । नेपालले काम गरेका मुलुकहरुमा लेबनान, भारत–पाकिस्तान, सिनाइ, ताजिकिस्तान, कुवेत–इराक, हाइटी, इजरायल, सोमालिया, पहिलेको युगोस्लाभिया, पूर्वी स्लोभेनिया, मासेडोनिया, लिबिया, कोसोभो, सिरालियोन, कंगो, टिमोर लिस्टे, आइभरी कोष्ट, लाइबेरिया, सिरिया, ब्रुन्डी, जर्जिया, सुडान, मोरक्को, सुडान, दक्षिणी सुडान, यमन लगायत मुलुकमा काम गरेको अनुभव छ ।

नेपाली सेनाको तथ्यांकअनुसार विगत ६६ वर्षमा नेपाली सेनाबाट १ लाख ५३ हजार १०८ सैनिकहरुले विश्व शान्तिको लागि भूमिका निर्वाह गरिसकेका छन् । जसमध्ये ७३ जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् ।

राष्ट्रसंघको ७९ औं महासभा

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully